गाईमा छ पैसा, अन्त किन जाने ?

काठमाण्डु टुडे २०७० मंसिर १३ गते १०:५० मा प्रकाशित

cow farm nepalकाठमाण्डु । कञ्चनपुरका कृषक उन्नत गाईपालनतर्फ आकर्षित भएका छन् । सरकारले कृषिमा सहुलियत दिने नीति पछि कृषक उन्नत गाईपालनतर्फ आकर्षित भएका हुन् ।  सुडा गाविसलाई सुदूर तथा मध्यपश्चिममै उन्नत गाईपालनमा नमुना गाविस घोषणा गरिएलगत्तै यस क्षेत्रका कृषक उन्नत जातको गाईपालनतर्फ आकर्षित भएका हुन् ।

सुडा गाविससँगै भीमदत्त नगरपालिका किसान पनि उन्नत जातका गाईपालनतर्फ आकर्षित हुन थालेका छन् । सुदूरमा उन्नत गाईपालन फस्टाउँदै गएका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का एक युवा व्यावसायिक रुपमा पशुपालन व्यवसायमा लागेका छन् ।

गाईपालन फस्टाउँदै गएपछि बिमा कम्पनीमा कार्यरत भिनपा–२ का केशवराज ओझाले पनि व्यावसायिक रुपमा नवदुर्गा पशुपक्षी फर्मको स्थापना गरी उन्नत जातको गाईपालन सुरु गरेका छन् । व्यावसायिक रुपमा फर्मको स्थापना गरी उनले गाईपालन सुरु गरेका हुन् ।

सुरुमा आफूले व्यवसाय सञ्चालन गर्दा केही मानिसले कुरा काट्दै हिँडे पनि आफूले कडा परिश्रम गरेर व्यवसाय स्थापित गरेको बताए । ओझाले अहिले आफ्नो नवदुर्गा पशुपक्षी फर्ममा दुई जनालाई रोजगारसमेत दिएका छन् । अहिले अरुको लहलहैमा लागेर विदेशिने युवालाई पनि स्वदेशमै बसेर कृषि व्यवसाय गरेर राम्रो कमाइ हुने उहाँले बताउनुभयो । विदेशमा परिश्रम बगाउनुभन्दा स्वदेशमा यहीको स्रोत साधन प्रयोग गरेर मनग्य आम्दानी गर्न सकिने ओझाको भनाइ छ ।

करिब दुई महिना अगाडि फर्म खोलेका दैजी गाविसका धनबहादुर देउवाले व्यावसायिक रुपमा गाईपालन गरी मनग्य आम्दानी गर्न सफल भएका छन् । उनले विदेशमा  काम गर्दै आएका चार जनासँग मिलेर उन्नत जातको गाईपालन सुरु गरेका थिए । करिब २५ लाखको लागतमा उनले गत जेठ महिनामा व्यावसायिक रुपमा बैजनाथ गाईपालन केन्द्र स्थापना गरी गाईपालन पेसामा लागेका थिए ।
दूध बेचेर आम्दानी

दूधको उचित मूल्य नपाएर दुःख पाएका पर्साका ग्रामीण भेगका किसानले यतिखेर दूध बेचेर राम्रो आम्दानी गर्न थालेका छन् । दुग्ध विकास संस्थानको चिस्यान केन्द्रले उत्पादन भएजति दूध खरिद गर्न थालेपछि पर्साका बागवाना, मधुवन, मथवल, हरपुर र गादीलगायतका करिब आधा दर्जन गाविसका किसानलाई दूध बेच्न सहजमात्रै भएको छैन्, दूधको उचित मूल्य पाएर उनीहरुको आम्दानीसमेत वृद्धि हुन थालेका छन् ।

केन्द्रले दैनिक ४०० लिटर दूध सङ्कलन गरिरहेको छ । यस भेगका १५० भन्दा बढी दूध उत्पादक किसानले केन्द्रमा दैनिक दूध बिक्री गर्न पाएका छन् । कोइलाभारटाडीका किसान जीवन मैनाली भन्छन्, ‘उचित मूल्यमा सहजरुपमा दूध बिक्री हुन थालेपछि यहाँका किसान अहिले दूध उत्पादन व्यवसायप्रति बढी आकर्षित हुन थालेका छन् ।’

दूध बेचेर दुई सातामा एकमुष्ट रु चार हजार हात पार्न सफल भएकोमा खुसी व्यक्त गर्दै किसान मैनालीले भने, ‘घर आँगनमै पशुपालन व्यावसाय गर्दा राम्रो आम्दानी हुँदोरहेछ भन्ने उदाहरण अहिले म आफैँ भएको छु ।’ स्थानीय चिया र मिठाइ पसलेले मुस्किलले रु ३५ मा खरिद गर्ने गरेको दूध अहिले संस्थानको उक्त चिस्यान केन्द्रले दूधको गुणस्तर हेरेर प्रतिलिटर रु ३५ देखि ६० सम्म खरिद गर्ने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us