चिसोले झार्‍यो चौंरी गोठ

काठमाण्डु टुडे २०७० मंसिर १३ गते १०:२८ मा प्रकाशित

chauri yakइलाम, १३ मंसिर– जिल्लाको उत्तरी क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि त्यहाँ लगिएका चौँरी गोठहरू न्यानो स्थान खोज्दै ओरालो झार्न थालिएको छ । इलामको कालापोखरी, सन्दकपुर, पाँचथरको फालोट, ताप्लेजुङको टिम्बुपोखरी, कालीखोला भन्ने स्थानबाट चौँरी गोठ न्यानोतर्फ सार्न थालिएको हो ।

अत्यधिक चिसो हुन थालेपछि चौँरी आफै न्यानो खोज्दै उधो झर्ने भएकाले चौँरीपालक किसानले सोहीअनुसार पुरानो खर्कतिर गोठ सार्ने गरेका छन् । टिम्बुपोखरी क्षेत्रमा छार्के र तुसारो सुरु भइसकेको छ । ताप्लेजुङ र पाँचथरमा मात्र रहेका छ दर्जनभन्दा बढी गोठ न्यानो स्थानतर्फ सार्दै लगिएको छ ।

सन्तपुर र कालपोखरीका खर्कमा ती क्षेत्रमा रहेका गोठ दैनिक ओरालो झर्ने गरेको सन्दकपुरका पासाङ शेर्पाले बताए । यहाँका गोठ भने अझ तल बस्ती नजिक झार्ने गरिएको छ । अत्यन्तै चिसो हुने क्षेत्रमा रहेका गोठ क्रमशः कम चिसो हुने क्षेत्रमा ल्याइन्छ । त्यहाँ रहेका गोठ केही तल झारिन्छ ।

बस्दै आएको स्थानको तापक्रमभन्दा क्रमशः न्यानो स्थानमा चौँरी रूचाउने भएकाले गोठालाले क्रमशः न्यानोतर्फ झार्ने गरेको माइमझुवा–९ का पेम्वाछिरिङ भोटियाले बताए । इलाम, पाँचथर र ताप्लेजुङका उच्च पहाडी क्षेत्रमा रहेका करिब ७० वटाभन्दा बढी चौँरी गोठ रहेका छन् ।

असोज १५ देखि गोठ उधौली झर्ने क्रम सुरु हुन्छ । यस पटक छिट्टै चिसो सुरु भएकाले तातो नफिरुञ्जेल गोठ लेकतर्फ नलगिने भोटियाले जानकारी दिए । वैशाख महिनादेखि गोठ उभौली लाने गरिन्छ । उधौली झरेको अवस्थामा चौँरीबाट उत्पादन राम्रो हुने गरेको किसान बताउँछन् । चौँरीसँगै भेडी गोठ पनि उधो सार्न थालिएको छ । सयौँको सङ्ख्यामा रहेका भेडासहितको गोठ तल झार्न थालिएको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us