जमानत जोगाउन नसक्नेहरु को को ?

काठमाण्डु टुडे २०७० मंसिर १३ गते ४:३१ मा प्रकाशित

वीरगन्ज, १३ मंसिर–पार्टीको अध्यक्ष, महासचिव, सहमहासचिवलगायत केन्द्रीय सदस्य पदमा रहेका र मन्त्री बनेका मधेसी दलका धेरै नेताले पर्सामा चुनाव हारेका छन् । तीमध्ये चर्चामा रहेका अधिकांशको त यो पटक जमानत नै जफत भएको छ । जमानत जोगिन आफ्नो क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेको छ ।

जमानत जफत हुनेमा मधेसी जनअधिकार फोरम–मधेसका अध्यक्ष भाग्यनाथ गुप्ता, नेपाल सदभावना पार्टीकी अध्यक्ष एवम् पूर्वमन्त्री सरिता गिरीदेखि लिएर मधेसी जनअधिकार फोरम–गणतान्त्रिकका महासचिव शशिकपुर मियाँ र संघीय सदभावना पार्टीका सहमहासचिव शिव पटेलसम्मका नेता रहेका छन् । मधेसी जनअधिकार फोरम–मधेसका अध्यक्ष भाग्यनाथ गुप्ता पर्सा–१ र बारा–४ बाट चुनावी प्रतिस्पर्धामा लडेका थिए । उनको दुवै क्षेत्रबाट जमानत जफत भएको छ । उनले पर्सा–१ मा कुल सदर ३४ हजार ८६१ मतमा ३०३ र बारा क्षेत्र नं. ४ मा कुल सदर ४२ हजार १५ मतमा सात मत मात्रै पाएका छन् ।

त्यस्तै नेपाल सदभावना पार्टीकी अध्यक्ष सरिता गिरीको पनि पर्सा–१ बाट जमानत जफत भएको छ । पूर्वमन्त्री गिरीले कुल सदर ३४ हजार ८६१ मतमा २६६ मत मात्रै पाइन् । फोरम गणतान्त्रिकका महासचिव रहेका पर्सा क्षेत्र नं. २ बाट शशिकपुर मियाँको समेत जमानत जफत भएको छ । कुल सदर ३८ हजार ८३ मतमा उनले दुई हजार ३०६ मत मात्रै पाएका छन । पर्सा क्षेत्र नं. ३ बाट संघीय सदभावना पार्टीका सहमहासचिव शिव पटेलले समेत जमानत जोगाउन सकेनन् । कुल सदर ३९ हजार ९७९ मतमध्ये उनले एक हजार ७०० मत मात्रै पाएका छन् ।

पूर्वसभासदको पनि जफत

यसैगरी पर्सा क्षेत्र नं. १ मा फोरम नेपालबाट चुनावी प्रतिस्पर्धामा उत्रेकी पूर्वराज्यमन्त्री करिमा बेगमको पनि जमानत जफत भएको छ । अघिल्लो संविधानसभाको निर्वाचनमा यही क्षेत्रबाट जितेकी बेगमले यसपटक जमानत पनि जोगाउन सकिनन् । उनले एक हजार ९२ मत मात्र पाएकी छन् । सदभावना पार्टीका केन्द्रीय सदस्यहरु फिरोज मियाँले पर्सा क्षेत्र नं. २ बाट २०३, मोहनलाल चौधरी थारूले क्षेत्र नं. ४ बाट ७८५ र मोहम्मद निजामुद्दिन समानीले क्षेत्र नं. ५ बाट एक हजार १३५ मत मात्रै पाएका छन् । यी तीनै जना केन्द्रीय सदस्यको जमानत जफत भएको छ ।

त्यस्तै पर्सा क्षेत्र नं. ३ बाट चुनावी मैदानमा उत्रिएका तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य जनार्दनप्रसाद यादवको पनि जमानत जफत भएको छ । उनले १३८ मत मात्रै पाए भने फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य वीरेन्द्रलाल नेपालीले पर्सा क्षेत्र नं. ५ बाट कुल सदर ४० हजार ५१९ मतमध्ये एक हजार ६३९ मत मात्रै पाएका छन् । उनलाई पनि निर्वाचन कार्यालयले जमानत फिर्ता दिन परेन ।

जमानत जफत हुनेमा मधेसी दलहरु मात्र होइनन्, नेकपा (माले), नेपाली जनता दल, राष्ट्रिय जनता दल नेपाल, जनता दल लोकतान्त्रिक, नेपाल नागरिक पार्टी, राष्ट्रिय शिव सेना, शिव सेना नेपाल, नव नेपाल निर्माण पार्टी, नेपाल समाजवादी पार्टी (लोहियावादी), नेमकिपा, दलित जनजाति पार्टी, सोसल रिपब्लिकन पार्टी, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, हिन्दु प्रजातान्त्रिक पार्टी, नेपाल, जनता पार्टी, नेपाल युवा किसान पार्टी, नेकपा (संयुक्त), जनप्रजातान्त्रिक पार्टी, नेपाल परिवार दल लगायतका साना पार्टीहरु पनि छन् ।

ठूला दलको हालत पनि उस्तै

त्यस्तै, प्रमुख दलहरुमध्ये एमाओवादीबाट पर्सा क्षेत्र नं. १ र ३ का उम्मेदवारहरु क्रमशः बलिरामप्रसाद साह तेलीले एक हजार ७०५ र जितेन्द्रप्रसाद यादवले एक हजार ५१७ मत प्राप्त पाएका छन भने एमालेबाट क्षेत्र नं. १ का उम्मेदवार नवराज शर्मा (तिमिल्सना)ले दुई हजार २७३ मत पाए छ । उनीहरुको पनि जमानत जफत भएको छ ।

जिल्लाको पाँचवटै निर्वाचन क्षेत्रवाट उम्मेदवारी दिएकामध्ये ९४ प्रतिशतको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार जिल्लाको पाँचवटै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २१० जनाले उम्मेदवारी दिएकामा १९३ जनाको जमानत जफत भएको छ । उनीहरुको जमानत जफतबाट पाँच लाख ७९ हजार राजस्व असुली भएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us