म्यादी प्रहरीले उपचार पाएनन्

काठमाण्डु टुडे २०७० मंसिर १३ गते ४:०१ मा प्रकाशित

कञ्चनपुर, १३ मंसिर–निर्वाचनमा सुरक्षा दिन खटिएका एक म्यादी प्रहरी उपचारबाट वञ्चित भएका छन् । कञ्चनपुरबाट बैतडी खटिएका भीमदत्त नगरपालिका–७ हल्दुखालका म्यादी प्रहरी राजेन्द्र चन्द बैतडीको दशरथ चन्द नगरपालिका सुन्दरखालीस्थित दशरथ उच्च माविमा ड्युटीमा खटिएका बेला दुईतलाबाट खसेका थिए । दुईतलाबाट खस्दा चन्दको अघिल्तिरका तीनवटा दाँत खसेका छन् भने छाती र हातखुट्टामा समेत चोट लागेको उनको परिवारले जनाएको छ ।

उनका बुबा उदा चन्दका अनुसार राजेन्द्र कात्तिक १७ गते ड्युटीमा खटिएका बेला खसेका थिए, उनको उपचार बैतडी जिल्ला अस्पतालमा गरिए पनि निको हुन सकेको छैन । सरकारले निर्वाचनमा खटिने जुनसुकै कर्मचारीलाई घाइते भएमा झन्डै २५ हजार बराबरको उपचार खर्च गर्ने व्यवस्था गरे पनि चन्दले भने सो रकम बराबरको उपचार नपाएको परिवारको गुनासो छ । राजेन्द्रले आफ्नो तलबबापत पाँच हजार बराबरको उपचार गरे पनि निको नभएको बुबा उदाको भनाइ छ ।

‘म्यादी प्रहरी बनेर केही कमाउला भनेको त उल्टै उपचारका लागि खर्च हुने भयो,’ उनले भने । घाइते चन्दको थप उपचार र क्षर्तिपूर्तिका लागि स्थानीय प्रशासनले  प्रहरीलाई परिपत्र पठाए पनि बैतडीका प्रहरी प्रमुख हुमनाथ निरौलाले उपचार खर्च दिन नमानेको उनको आरोप छ । उनका परिवारले घाइते चन्दको थप उपचार र क्षतिपूर्तिका लागि सरकारसँग माग गरेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us