सुरक्षाका लागि सीमा सशस्त्र प्रहरी

काठमाण्डु टुडे २०७० मंसिर १२ गते ९:१० मा प्रकाशित

armed policeचितवन, १२ मंसिर– चितवनको सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप र सीमा सुरक्षालाई मध्यनजर गर्दै माडीका दुई स्थानमा सशस्त्र प्रहरीको बेसक्याम्प राखिने भएको छ । माडीको अयोध्यापुरी गाविस–९ बादर झुला र बघौडा गाविस–१ छरछरेमा बेसक्याम्प (बिओपी) राख्ने कार्य तीव्र गतिमा अगाडि बढाइएको छ ।

दुई स्थानमा राखिने बेसक्याम्पमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ५० जना सुरक्षाकर्मी खटाइनेछ । उनीहरूले सीमा सुरक्षासँगै सीमा क्षेत्रमा हुने गरेका आपराधिक क्रियाकलाप नियन्त्रणमा पनि विशेष भूमिका खेल्ने प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले बताए । यसैगरी जिल्ला प्रशासन कार्यालयको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सिसिटिभी जडान गरिएको छ ।

प्रशासनमा हुनसक्ने चोरी, लुटपाट एवं आपराधिक घटनालाई नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा नियन्त्रण कक्ष रहने गरी सिसिटिभी जडान गरिएको हो । मुख्यगरी प्रशासन प्रवेश गर्ने मूलद्वार र कर्मचारीहरूको विभिन्न कक्षमा गरी नौ स्थानमा सिसिटिभी जडान गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

गत वर्ष जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीलाई अपहरणको प्रयास भएपछि प्रशासन कार्यालयको सुरक्षालाई मजबुत बनाउनुपर्ने आवश्यकता महसुस गरिएको थियो । सिसिटिभी जडानसँगै प्रशासनका विभिन्न विभागमा हुने ढिलासुस्ती र भ्रष्टाचारका घटनामा समेत कमी आउने अनुमान गरिएको छ ।

उता, चितवनको मुख्य बजारमा जडान गरिएका सिसिटिभीहरू भने मर्मतसम्भारको अभावमा सञ्चालनमा आउन सकेका छैनन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनका विभिन्न स्थानमा राखिएका सिसिटिभीहरूमध्ये भरतपुरको चौबिसकोठी, वीरेन्द्र क्याम्पस गेट अगाडि र केन्द्रीय बस टर्मिनलमा राखिएका बाहेक अन्य स्थानमा राखिएका सिसिटिभीहरू बिग्रिएका छन् ।

उद्योग वाणिज्य संघ चितवनको पहलमा करिब रु ६० लाखको लागतमा दुई वर्षअघि प्रमुख बजार केन्द्रहरूमा २९ स्थानमा सिसिटिभी राखिएको थियो । सिसिटिभीहरू सञ्चालनमा नआउँदा आपराधिक घटनाको अनुसन्धानमा प्रभाव परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रद्युम्न कार्कीले बताए । बिग्रिएका सिसिटिभीहरू मर्मत गर्नका लागि करिब रु १२ लाख लाग्ने अनुमान सिसिटिभी जडानका लागि बनेको संस्था थड भिजनले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us