मर्यादा बिर्सेर राजदूतहरु नेताहरुको घरदैलोमा

काठमाण्डु टुडे २०७० मंसिर १२ गते १०:१९ मा प्रकाशित

Andy sparkes and peter w boddeकाठमाण्डु, १२ मंसिर– नेपाली राजनीतिमा विदेशी हस्तक्षेपको कुरा समयसमयमा चर्को रुपमा उठ्ने गरेकामा निर्वाचन सकिएलगत्तै विभिन्न देशका राजदूत दलका नेताहरु निवासमै लर्को लागेर पुगेकाले विगतका चर्चालाई पुष्टि गरेको महसुस हुन थालेको छ ।

नेपालस्थित कूटनीतिक नियोग एवम् दूतावासका प्रमुख एवम् प्रतिनिधिले दलका नेता या उच्च पदस्थ सरकारी अधिकारीलाई गर्नुपर्ने औपचारिक भेटपनि निजहरुको कार्यालयमा हुनुपर्ने मान्यताको स्थापना गर्नुपर्ने चर्चालाई यस्ता भेटघाटले नकारिदिएको छ ।

शुभकामना दिने नाममा कूटनीतिक मर्यादाविपरीत सरकार गठन, नेतृत्व र सहभागिताजस्ता विषयमा हस्तेक्षपकारी ढङ्गले कूटनीतिक क्षेत्रबाट भइरहेको भेटघाटलाई पूर्व परराष्ट्रहरुले समेत स्वाभाविक रुपमा लिन नसक्ने प्रतिक्रिया दिएका छन् ।

परराष्ट्रमन्त्रीको अनुभवसमेत सम्हाली सकेका मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेपाली राजनीतिमा आवश्यकताभन्दा बढी कूटनीतिकज्ञहरुले चासो देखाउने गरेको स्वीकार्छन् । उनी भन्छन्, ‘मुलुकमा राजनीतिक अस्थिरता, दुर्वल नेतृत्व, अराजक राजनीति र आफ्नो निर्णय आफँै लिन सक्ने नेतृत्वको क्षमता अभावका कारण बाहिरी चासो बढेको पाइन्छ ।’

त्यस्तै पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले विदेशीहरुको रुची, संलग्नता हाम्रो लागि हुने होइन उनीहरुको स्वार्थ पूरा गर्न र काम देखाउने हुने भएकाले त्यो पाटोलाई ख्याल गरेर हाम्रा राजनेताले भेटघाटमा सजगता अपनाउनु पर्ने सल्लाह दिन्छन् ।

‘निर्वाचन जितेका दल निर्वाचन जिताउने जनतालाई धन्यवाद दिन नभ्याउने, आफ्नो भावी कार्यक्रमबारे दलभित्र सरसल्लाह गर्न नभ्याउने तर विदेशी राजदूतलाई भेट्न आमन्त्रण गर्न हतारिएको देख्दा अनुभवबाट केही नसिकेको, ठक्कर खाएर नचेतेको र आफ्नो खुट्टा आफ्नो धर्तीमा राख्न तयार नभएको बुझिन्छ,’ उनले भने ।

पूर्व राजदूत एवम् पूर्व पराराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले पनि मन्त्रालयले कूटनीतिक मर्यादा पालनका लागि आचारसंहिता पहिल्यै नै तयार पारेको भए पनि हामीकहाँ आचारसंहिता उल्लङ्घनको इतिहास लामै रहेको बताए । उतले भने, ‘त्यसैले अहिले राजदूतहरुले देखाएको भेटघाट र सक्रियता नौलो होइन ।’

रेग्मीसँग राजदूत बोडेको भेट

मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत पिटर डब्लु बोडेले बुधबार मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा शिष्टाचार भेट गरे ।

सो अवसरमा मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले भर्खरै सम्पन्न संविधानसभा निर्वाचन सफल हुनुमा नेपाली जनताले स्वःस्फूर्तरुपमा गरेको मतदान र नेपाली जनताको शान्ति र स्थायित्वप्रतिको चाहना प्रमुख रहेको बताउनुभएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ  ।

उनले निर्वाचनका क्रममा भएको राज्यको तयारी तथा निर्वाचनप्रति आम नागरिकको उत्साहका कारण जनताले स्वतन्त्ररुपमा निर्वाचनमा सहभागी भई मतदान गरेको र यसले नेपालको लोकतन्त्रलाई थप सुदृढ तुल्याएको बताए । संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने सन्दर्भमा निर्वाचनमैत्री वातावरण निर्माण गर्न अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोग प्रशंसनीय रहेको पनि अध्यक्ष रेग्मीले बताए ।

सो अवसरमा राजदूत बोडेले संविधानसभा निर्वाचन स्वतन्त्र, स्वच्छ र विश्वसनीय भएको र उक्त निर्वाचनमा नेपाली जनताकोे उत्साहजनक सहभागिता रहनु सबैका लागि खुसीको विषय भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us