ड्राइभिङ लाइसेन्स दिने काम अझै सुचारु भएन

काठमाण्डु टुडे २०७० मंसिर १२ गते ९:५७ मा प्रकाशित

driving licence processदाङ, १२ मंसिर– यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरमा विगत नौ महिनादेखि रोकिएको सवारी चालकको अनुमतिपत्र वितरण अझै सुचारु हुन सकेको छैन ।

सुधारात्मक प्रक्रियासहित सवारीचालक अनुमतिपत्र दिने भन्दै दाङ जिल्लालगायत मुलुकभरि त्यसको तयारीका लागि विगत नौ महिनादेखि सवारी चालक अनुमतिपत्र वितरणको परीक्षा रोकिएको हो । तर कार्यालयले अब चाँडै नै चालक अनुमतिपत्रका लागि फारम भने खुला गर्ने जनाएको छ ।

नौ महिनादेखि रोकिएको चालक अनुमतिपत्र वितरणका लागि अब केही दिनमा नै फारम खुला गर्ने कार्यालयका शाखा अधिकृत तिलक खड्काले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा तीन दिन साना तथा ठूला सवारीसाधन र तीन दिन मोटरसाइकलका लागि फारम खुला गरिने छ ।

त्यसका लागि पहिलो चरणमा फारम दर्ता खुला गरिएलगत्तै लिखित र ट्रायलका लागि सूचना प्रकाशित गरिने कार्यालयले जनाएको छ । यातायात विभागले विसं २०६९ चैतदेखि सवारी चालक अनुमतिपत्र वितरणसम्बन्धी नयाँ मापन नीति लिएपछि देशभरि सवारी चालक अनुमतिपत्र रोकिएको थियो । त्यसैगरी राप्ती अञ्चल लगायत देशका अन्य स्थानमा सवारी चालक अनुमतिपत्र वितरण नहुँदा समस्या परेको बताएको छ ।

हाल काठमाण्डु उपत्यकाबाहेकका अन्य स्थानमा नयाँ नितिअनुरुप अनुमतिपत्र वितरण हुनसकेको छैन । पहिले सामान्य पोल गाडेर मापन गर्दै आएको परीक्षणलाई रद्द गरी हाल विभागले नयाँ सवारी चालक अनुमतिपत्र वितरणका लागि सञ्चालन गरिने प्रयोगात्मक परीक्षा व्यवस्थित गर्ने २०६९ निर्देशिका जारीसमेत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us