संविधानसभामा जान सक्छौं : गुरुङ

काठमाण्डु टुडे २०७० मंसिर १२ गते ९:४८ मा प्रकाशित

Devभक्तपुर, १२ मंसिर– नेकपा–माओवादीका सचिव देव गुरुङले संविधानसभा निर्वाचनमा जित्ने ठूला दल सहमतिमा जान चाहे आफ्नो पार्टी पनि संविधानसभामा जानसक्ने बताएका छन् ।

उनले राष्ट्रिय स्वाधीनता प्राप्त उपलब्धिलाई रक्षा गर्नेगरी नयाँ शिराबाट सहमति गरे आफूहरु संविधानसभामा जान तयार रहेको बताएका हुन् ।

उनले भने, ‘यथास्थितिमा परिवर्तन गर्दै नयाँ शिराबाट सहमतिको निकास प्रमुख दलले दिनुपर्छ, सहमति पद प्रतिष्ठा र पैसासँग नभइ सैद्धान्तिक राजनीतिक र राष्ट्रिय मुद्दामा हुनुपर्छ, यसो भएमा नेकपा–माओवादी पनि संविधानसभामा भाग लिनसक्छ ।’

रफत सञ्चार क्लब भक्तपुरले बुधबार गरेको अन्तक्र्रियामा अहिलेकै प्रक्रियाबाट गए राजनीतिक निकास सम्भव नभएको भन्दै गुरुङले नेकपा–माओवादी सहमतिका बाधक भने नभएको उल्लेख गरे । आत्मसम्र्पणवादी चिन्तन त्यागेर दलले सहमतिको बाटो तय गर्नुपर्नेमा जोड दिँदै माओवादीलाई सहमतिको बाधक देख्नु दलको कमजोरी भएको उनको भनाइ थियो ।

एमाओवादी लचिलो भएर आए कार्यगत एकता गर्न सकिने सम्भावना औंल्याउँदै नेता गुरुङले फेरि पनि एमाओवादी काँग्रेस र एमालेको पुच्छर बन्यो भने सहकार्य हुन नसक्ने स्पष्ट पारे । राष्ट्रिय सहमतिको विकल्प नभएकामा जोड दिँदै उनले राष्ट्रिय स्वाधीनता र जन–जीविकाको मुद्दा लिएर आफ्नो दलले संवादको ढोकालाई सधैं खुला राखेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us