अन्तिम बलमा जित हात लगायो नेपालले

काठमाण्डु टुडे २०७० मंसिर १२ गते ९:०९ मा प्रकाशित

काठमाण्डु, १२ मंसिर– आइसीसी टी–२० विश्वकप क्रिकेटमा पुग्न नेपाल सफल भएको छ । नेपालले हङकङलाई ५ विकेटले हराउँदै विश्वकपको यात्रा तय गरेको हो ।

पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै नेपाललाई १ सय ४४ रनको लक्ष्य दिएको थियो । नेपालले सो लक्ष्य अन्तिम समयमा आएर पूरा गरेको हो । नेपालले निर्धारित २० ओभरको अन्तिम बलमा लक्ष्य भेटाएको हो ।

यस जितसँगै आउँदो वर्ष बंगलादेशमा हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आफूलाई सुरक्षित गर्न सफल भएको हो । जितका लागि शरद भेसवाकरले अन्तिम बलमा रन जोड्न सफल भएका हुन् । उनले खेलमा नटआउट १३ रन जुटाए ।

nepali cricket team

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ४६ रन, उपकप्तान ज्ञानेन्द्र मल्लले ३० रन, सागर पुनले २० रन, सुवास खकुरेलले १६ रन, विनोद भण्डारीले ६ रन जसुटाएका थिए ।

नेपालका लागि जितेन्द्र मुखियाले तीन विकेट, अविनाश कर्णले दुई विकेट र पारस खड्काले एक विकेट हात पारेका थिए । हङकङका लागि  वाकस वर्कात र निजाकतले समान २५ रन बनाए भने अन्य खेलाडीले खासै योगदान दिन सकेनन् ।

आगामी वर्षको मार्चमा बङ्गलादेशको राजधानी ढाकामा हुने ट्वान्टी–२० विश्वकपमा नेपालले आफ्नो स्थान सुरक्षित गरेको छ । विश्व ट्वान्टी–२० छनोटमा सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरिएको खेलमा दुबै समूहका विजेता टोली विश्व ट्वान्टी–२० लाई छनोट हुने प्रावधानअनुरुप समूह ‘ए’ बाट आयरल्यान्ड र समूह ‘बी’ बाट अफगानिस्तान ट्वान्टी–२० विश्वकपमा छानिसकेका छन् ।

विगत १७ वर्षे लामो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा विश्वकप खेल्ने नेपालको चाहना यो खेलबाट पूरा भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us