प्रचण्ड भारत प्रस्थान

काठमाण्डु टुडे २०७० मंसिर १३ गते ४:३२ मा प्रकाशित

prachanda 2काठमाण्डु, १३ मंसिर–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विहीबार भारत गएका छन् । उनी बिहान १० बजे एयर इण्डियाको जहाजमार्फत् नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

प्रचण्ड क्यान्सर पीडित जेठी छोरी ज्ञानु दाहाललाई भेट्न भारत गएका हुन् । लामो समयदेखि क्यान्सरबाट पीडित ज्ञानुको दिल्लीस्थित फोर्टिस अस्पतालमा उपचार भइरहेको छ । ज्ञानुको यसअघि मुम्बई र अमेरिकामा गरी दुईपटकसम्म क्यान्सरको शल्यक्रिया भइसकेको छ । तर स्वास्थ्यमा सुधार नभएपछि तेस्रोपटक शल्यक्रिया गर्न लागिएको उनका श्रीमान सागरले बताए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्डले आफ्नो दिल्ली भ्रमण नितान्त निजी भएको बताए । भारत बसाइको क्रममा कुनै राजनीतिक भेटघाट नहुने उनको भनाइ थियो । छोरीलाई भेटेर प्रचण्ड शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us