भवन भत्किएपछि खुला आकासमुनि

काठमाण्डु टुडे २०७० मंसिर १२ गते ५:५६ मा प्रकाशित

धुर्कोट, १२ मंसिर–चार महिनाअघि भवन भत्किए पछि गुल्मी छापाहिलेको एक विद्यालयका विद्यार्थी खुल्ला आकासमुनि बसेर पढ्न बाध्य भएका छन् । छापाहिले गाविस–६ मा रहेको छापाहिले प्रस्तावित माध्यमिक विद्यालयका विद्यार्थी यस्तो समस्यामा परेका हुन् ।

भदौ ८ र ९ गतेको अविरल वर्षासँगै बगेको पहिरोले भवन भत्किएपछि १ कक्षादेखि ५ सम्मका विद्यार्थीलाई चौरमा राखेर पढाउने गरिएको प्रधानाध्यापक श्यामलाल गिरीले जानकारी दिए । प्रधानाध्यापक गिरीका अनुसार २०१८ सालमा स्थापना भएको विद्यालयको भवन नभएपछि २०५४ सालमा गुल्मी–अर्घाखाँची ग्रामीण विकास परियोजना (गार्डेप)ले सो भवन निर्माण गरी दिएको थियो । भवन निर्माणको ठाउँ नभएपछि उक्त विद्यालयको प्रावि र मावि करिब १५ मिनेटको दूरीमा छन् । प्रावितर्फका दुईवटा भवन रहेको मध्ये भत्किएको भवनतर्फको शौचालयसमेत जीर्ण बनेको छ ।

‘शान्ति तथा पुनःनिर्माण मन्त्रालयले बनाइ दिएको जम्मा चार कोठे भवन मात्रै छ”– प्रधानाध्यापक  गिरीले भने, “जिल्ला शिक्षा कार्यालयले यहाँको मर्का नबुझी दिने हो भने विद्यायल बन्द गर्ने अवस्थामा पुग्ने छौं ।’

जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले उक्त विद्यालयको भवन निर्माण प्राथमिकतामा परेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us