विषादी सेवनबाट महिलाको मृत्यु

काठमाण्डु टुडे २०७० मंसिर १२ गते ५:०२ मा प्रकाशित

गौशाला, १२ मंसिर–विषादी सेवनबाट महोत्तरीको सम्सी गाविसमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाविस–८ बस्ने दीपेन्द्र यादवकी पत्नी १८ वर्षीया सुनितादेवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

ट्याक्टर चालक रहेका पति दीपेन्द्रले आफूलाई समय नदिने गरेको तथा दुई÷चार दिनदेखि घरमा समेत नआएको आरोप लगाउँदै सुनिताले आफ्नै घरपछाडि रहेको बारीमा गएर विषादी सेवन गरेको परिवारजनले बताएका छन् ।

खेतबारीमा किरा मार्नका लागि छर्किने इन्डोसेल नामक विषादी सेवन गरी बारीमा बेहोस अवस्थामा फेला परेकी सुनितालाई परिवारका सदस्यले छिमेकीको सहयोगमा उपचारका लागि सम्सी स्वास्थ्य चौकीमा पुर्याएका थिए । तर सो स्थानमा उपचार सम्भव नभएपछि थप उपचारका लागि मंगलबार राति भारतको कन्हमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक इकबाल हवाडीले जानकारी दिए ।

शव परीक्षणका लागि बुधबार बिहान जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us