छोरी हत्या गर्ने आमाबाबुलाई आजीवन जेल

काठमाण्डु टुडे २०७० मंसिर १२ गते ५:०० मा प्रकाशित

गाजियावाद, १२ मङ्सिर–भारतमा निकै चर्चा पाएको मुद्दा आरुषि हत्याकाण्डमा दन्तचिकित्सक दम्पती राजेश तथा नुपुर तलवारलाई मङ्गलबार अदालतले आजीवन कारावासको सजाय तोकिदिएको छ । Aarushi-Talwar
ती नवयुवती छोरी र एक नेपाली कामदारको घाँटी काटी हत्या गरेको भन्दै अदालतले त्यस्तो सजाय तोकिदिएको हो ।
न्यायाधीश श्यामलालले तलवादर दम्पतीले १४ वर्षीया आरुषिलाई नेपाली कामदार हेमराज बञ्जाडेसँगै नयाँ दिल्लीको बाहिरी भागमा अवस्थित उनीहरूको घरमा सन् २००८ मा मारेको आरोपमा यसअघि दोषी ठहर गरेका थिए ।
स्वतन्त्र कानुन व्यवसायी नरेश यादवले गाजियावादमा अदालतको बाहिरी भागमा भेला भएका पत्रकारहरूलाई आजीवन कारावासको सजायँ तोकिएको बताए । सोमबार यी दम्पती दोषी फेला परेपछि सरकारी वकिलहरूले निजहरूलाई मृत्युदण्ड दिइनुपर्ने माग गरेका थिए तर न्यायाधीश श्यामलालले उनीहरूको मागलाई अस्वीकार गरेका थिए ।
तलवार दम्पतीले आरुषिलाई ४५ वर्षीय घरेलु कामदारसँग अनुचित अवस्थामा फेला पारेपछि क्रोधमा पारिवारिक सम्मानका लागि हत्या गरेको अनुसन्धानकर्ताहरूले आरोप लगाएका थिए ।
मध्यमवर्गीय दन्तचिकित्सक दम्पतीले आफूहरू प्रहरी अक्षमता तथा आमसञ्चारको अनावश्यक प्रचारबाट पीडित भएको दाबी गरी पुनरावेदन दिने बताएका छन् ।
सन् २००८ को मे महिनामा आरुषिलाई उनको विछ्यौनामा घाँटी काटिएको अवस्थामा फेला पारिएको थियो ।
प्रहरीले आरम्भमा हराइरहेका नेपाली कामदार हेमराजमाथि आरोप लगाएका थिए तर एक दिनपछि निजको पनि शव घाँटी काटिएको अवस्थामा सोही घरको छतमा फेला परेको थियो । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us