मान्छेको जस्तै बहर–बाच्छीको विधिपूर्वक विहे

काठमाण्डु टुडे २०७० मंसिर १२ गते ५:५९ मा प्रकाशित

Gaipujaरत्ननगर, १२ मंसिर–मानिसको विवाह त सबैलाई थाहा भएकै कुरा हो । तर तपाईंले जनावरको पनि मानिसको जस्तै धुमधामसँग विवाह भएको भने कमै सुन्नुभएको होला । त्यसमाथि बहर र बाच्छीको विवाह ।

मङ्गलबार चितवनको पवित्र तीर्थस्थल देवघाटस्थित बागिश्वरी आध्यात्मिक परिषदमा यस्तै विवाहमण्डपमा मानिसहरुको भीड मात्रै थिएन गाई तथा बाच्छाबाच्छीको भीडले जन्ती आएझैं भएको थियो । मानिसको बिहे जस्तै विवाहमण्डप बनाइएको थियो भने धुमधामसँग विधिपूर्वक नै बहर र बाच्छीको विवाह सम्पन्न भएको थियो । चितवन माडीका लक्ष्मीकान्त शर्माले ल्याएको बहर र परिषदमा रहेको दुई वर्षको बाच्छीबीच यसरी धुमधामसँग बिहे भएको परिषदका एकजना सदस्य नवराज ढकालले जानकारी दिए ।

बिहानदेखि सुरु भएको बिहे दिनभर नै भएको चलेको थियो । मानिसको बिहे जसरी हुन्छ बहर र बाच्छीको पनि उही विधिपूर्वक विवाह सम्पन्न भएको ढकालले बताए । यस्तो विवाह सांस्कृतिक परम्परा भए पनि पछिल्लो समय हराउँदै गएकाले परम्परा जोगाउन गरिएको परिषदले जनाएको छ ।

परम्पराको जगेर्नासँगै गाई र गोरुको महिमा बढाउनका लागि यसरी विवाह गरिएको लक्ष्मीकान्तको भनाइ छ । आफ्नो सङ्कल्प भएकाले बहरदान गरेको उनको भनाइ छ ।  मानिसमा कन्यादान गर्ने र युवती युवकको घर जाने चलन छ । तर यसको ठीक उल्टो गाई गोरुमा भने बहर दान गर्ने र बाच्छीकै घरमा बस्ने चलन हुने पण्डित गुरुप्रसाद सुवेदीले जानकारी दिए । सुवेदीले नै विवाह कार्यसम्पन्न गरेका थिए ।

सो परिषदमा हाल १७० भन्दा बढी गाई तथा बाच्छाबाच्छी रहेका छन् ।  परम्पराअनुसार विवाह गरेकाहरुलाई भने बाँध्न तथा जोत्न र पिट्नसमेत नहुने चलन रहेको छ । विवाहपछि वंश धान्नका लागि उनीहरु स्वतन्त्र भएको मानिन्छ । विवाहपछि पनि लक्ष्मीकान्तले त्यो जोडीलाई एक वर्षसम्म खाने व्यवस्था आफूले मिलाएका छन् । उपस्थितहरुले यसलाई दाइजोका रुपमा समेत लिएका थिए । साथै भोज भतेरका रुपमा सबै गाईलाई प्रसादसमेत दिइएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us