राष्ट्रपति राख्ने र हटाउनेबारे एमालेभित्र विवाद

काठमाण्डु टुडे २०७० मंसिर १२ गते १७:२० मा प्रकाशित

Bamdev-Gautam-and-Ishwor-Poकाठमाण्डु १२ मंसिर-संविधानसभाको दोस्रो निर्वाचन परिणामले दोस्रो पार्टी बनेको एमाले भित्र वर्तमान राष्ट्रपति कायम राख्ने वा हटाएर नयाँ ल्याउने भन्नेमा तीव्र विवाद देखिन थालेको छ ।

एमाले उपाध्यक्ष बामदेव गौतमले बर्तमान राष्ट्रपति रामवरण यादवलाई हटाएर ताजा जनादेशका आधारमा नयाँ राष्ट्रपति चयन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । गौतमले मंगलवार बीबीसीसँग भनेका छन् ‘राष्ट्रपति त हटनै पर्छ,संविधानसभाको दोस्रो निर्वाचन परिकल्पना नगरिएकाले पो संविधान जारी हुँदासम्म कार्यकाल हुने भनिएको हो,राष्ट्रपतिको कार्यकाल १० बर्ष पनि हुन्छ कतै ? त्यसैले संविधान संशोधन गरेर पनि नयाँ राष्ट्रपतिको चुनाव गर्नुपर्छ ।’

सोही पार्टीका महासचिव इश्वर पोखरेलले सहमतिको राजनीतिलाई अप्ठयारो नपर्ने गरी निर्णय गरिने भन्दै वर्तमान राष्ट्रपति रामवरण यादव र काँग्रेस नेताहरुको धारणाको निकटतामा अभिव्यक्ति दिएका छन् । पोखरेलले बीबीसीसँग भनेका छन् ‘राजनीतिक दलका नेताहरुबीच परामर्श चलिरहेको छ,संविधानको व्यवस्थालाई पनि ध्यानमा राख्दै र सहमति पनि नबिग्रिने गरी एउटा निष्कर्षमा पुग्नुपर्छ ।’

एमाले सम्वद्ध कानुन व्यवसायी अग्नि खरेल ताजा जनादेशका आधारमा नयाँ राष्ट्रपति चयन गरिनुपर्ने धारणा व्यक्त गर्छन् । तर काँग्रेसका कानुन व्यवसायी राधेश्याम अधिकारी संविधानले नै नयाँ संबिधान जारी नभएसम्म बर्तमान राष्ट्रपति कायम रहने व्यवस्था गरेको बताउँछन् । काँग्रेसका तर्फबाट सुशील कोइरालालाई प्रधानमन्त्री बनाएर एमालेका एकथरि नेताहरु आफना वरिष्ठ नेता माधवकुमार नेपाललाई राष्ट्रपति बनाउँन चाहन्छन् ।

संविधानसभामा पहिलो पार्टी बन्न लागेको काँग्रेस वर्तमान राष्ट्रपतिलाई कायम राखेर सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने गृहकार्यमा जुटेको छ । काँग्रेसले प्रधानमन्त्री लिएमा आफूहरुले राष्ट्रपति पाउनुपर्ने दाबीका साथ एमाले नेताहरुले नयाँ राष्ट्रपति चयन गरिनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

अन्तरिम संविधानले संविधानसभाबाट नयाँ संविधान जारी गरेपछि सो संविधानमा व्यवस्था भएअनुसार राष्ट्रपति निर्वाचन गरिने व्यवस्था गरेको छ । अन्तरिम संविधानको मस्यौदा गरेका तत्कालीन कानुन सचिव तथा वर्तमान सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले संविधानअनुसार चल्ने हो भने संविधान जारी भएपछि मात्र राष्ट्रपति हटाउन सकिने सुझाव एमाले नेताहरुलाई दिइरहेका छन् । पौडेल एमालेको सिफारिसमा मन्त्री भएका हुन् ।

सहमतीय प्रणाली अवलम्बन गर्न संबिधान संशोधन गर्न काँग्रेस एमाले तयार भएमा संबिधानसभामा सहभागी हुने अन्यथा सविधानसभामै सहभागी नहुने निष्कर्ष निकालेको एकीकृत माओवादीले भने राष्ट्रपति नयाँ बनाउने वा पूरानैलाई कायम राख्ने भन्नेमा औपचारिक धारणा बनाइसकेकाे छैन । एकीकृत माओवादी संविधानसभामा सहभागी भएको अवस्थामा उसले पनि राष्ट्रपति नयाँ चयन गरिनुपर्ने विषय उठाउन सक्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us