चितवन, ११ मंसिर– निर्वाचन विरोधी अभियानका क्रममा चितवनमा पक्राउ परेका नेकपा–माओवादीका १२ जना कार्यकर्ता मंगलबार धरौटीमा रिहा भएका छन् ।
रिहा हुनेमा निरञ्जन भट्टराई, गोपाल भट्टराई, गङ्गाराम यादव, खेम पाण्डे, रामकृष्ण सुनुवार, कविर राई, प्रकाशबहादुर गुरुङ र अर्जुन विकलगायतका रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सञ्जयबहादुर राउतले बताए ।
उनीहरूलाई केही सार्वजनिक अपराधअन्तर्गत मुद्दा दायर गरी अनुसन्धानका लागि प्रहरीको हिरासतमा राखिएको थियो । प्रतिव्यक्ति पाँच हजार रुपैयाँ धरौटीमा उनीहरू रिहा भएका हुन् ।
यसैबीच, निर्वाचन विरोधी अभियानकै क्रममा जुगेडीमा गुडीरहेको बसमा आगजनी गरेको अभियोगमा पक्राउ परेका नेकपा–माओवादीका शक्तिखोरका २८ वर्षका नवीन बिसी भने हिरासतमै रहेका छन् ।
उनलाई मुलुकी ऐनको ज्यानसम्बन्धी महलअन्तर्गत ज्यान मार्ने उद्योग र बिस्फोटक पदार्थ ऐन, २०१८ अन्तर्गत कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।