पेट्रोल बमबाट यादवको मृत्यु, हात्ती आक्रमणमा पासवानको मृत्यु

काठमाण्डु टुडे २०७० मंसिर ११ गते १२:१३ मा प्रकाशित

कलैया, ११ मंसिर– गत कात्तिक २८ गते राति अज्ञात समूहले हानेको पेट्रोल बमबाट गम्भीर घाइते एक सहचालकको उपचारको क्रममा मंगलबार मृत्यु भएको छ ।

कलैयाबाट यात्रु लिएर काठमाण्डु जाँदै गरेको ना ४ ख ९८३६ नम्बरको बसलाई राति १२ बजे अज्ञात समूहले पेट्रोल बम हान्दा चालक, सहचालकसहित केही यात्रु घाइते भएका थिए । आक्रमणमा सहचालक रमेश यादव गम्भीर घाइते भएका थिए ।

उनको काठमाण्डुको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको बारा बस व्यवसायी संघले जनाएको छ । सहचालक यादवको मृत्युको विरोधमा मंगलबार बारा बस व्यवसायी संघले कलैया–वीरगन्ज सडकखण्डमा यातायात सेवा अवरुद्ध बनाएको छ ।

elephantActionहात्तीले एक मार्‍यो

हात्तीको आक्रमणमा परी पर्सामा एक व्यक्तिको मृत्यु भएको छ । पर्सा वन्यजन्तु आरक्षबाट आएको हात्तीले आक्रमण गर्दा पर्साको जितपुर गाविस–९ निवासी ४० वर्षका भिखारी पासवानको मृत्यु भएको हो ।

आहाराको खोजी गर्न वनबाट बाहिर आएको हात्तीको बथानले घरमा सुतिरहेका पासवनलाई कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मृतक पासवानको शव परीक्षणको लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

विगत एक सातादेखि आरक्षको हात्तीले वन छेउमा लगाइएको बाली खाँदै आएको स्थानीयवासीले गुनासो गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us