
काठमाण्डु, ११ मंसिर– एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभा निर्वाचनबाट ठूलो दल बनेको काँग्रेसले नयाँ सरकार गठनका लागि पहल गर्नुपर्ने बताएका छन् ।
नेता नेपालले निर्वाचनबाट नेपाली काँग्रेस ठूलो दलको रूपमा अघि आएकाले नयाँ सरकार गठनका लागि उसले नै पहलकदमी लिनुपर्ने बताएका हुन् । काठमाण्डु २ बाट निर्वाचित भएपछि सो क्षेत्रको लप्सीफेदीमा आयोपजत सभामा बोल्दै उनले भने, ‘एमाले सत्ताको लागि लालायित छैन, यसका लागि ठूलो दलले पहलकदमी लिनेछ ।’
आफूहरू जातीय राज्यको पक्षमा नभएकाले बहुपहिचानसहितको सङ्घीय राज्य स्थापनाका लागि नयाँ संविधानमा आवश्यक व्यवस्था हुने उनको भनाइ थियो । नेता नेपालले आगामी एक वर्षभित्रमा सकेसम्म सहमतिका आधारमा नयाँ संविधान जारी गर्ने प्रतिबद्धता जनाउँदै आफूलाई विजयी गराउने मतदाता र आम जनसमुदायमा आभार व्यक्त गरे ।