संविधानसभा र सरकारमा सहभागि हुन माओवादी तयार

काठमाण्डु टुडे २०७० मंसिर ११ गते ८:५७ मा प्रकाशित

काठमाण्डु ११ मंसिर–नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले अन्तरिम संविधानमा संसोधन गरेर आफूहरुको उचित प्रतिनिधित्व सुनिश्चित गरिए संविधानसभा र सरकार दुबैमा सहभागि हुन तयार रहेको स्पष्ट पारेका छन ।  CP-Gajurel
मन्त्रीपरिषदबाट मनोनित गर्ने २६ सिट लिएर आफूहरु संविधानसभामा कुनै पनि हालतमा नजाने स्पष्ट पार्दै गजुरेलले अहिलेको ब्यवस्था अनुसार आफूहरु संविधानसभामा जान सम्भव नभएकोले संविधान संसोधन गर्न दलहरु तयार हुनु पर्ने बताए । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अहिले दलहरुवीच आफूहरुलाई कसरी पहिचान दिने र कुन स्थान दिने भन्ने विषयमा छलफल भईरहेको जानकारी दिदै गजुरेलले भने– चुनावमा भाग लिएका दलहरुले माने हामी संविधानसभामै रहेर संविधान निर्माणमा भूमिका खेल्न तयार छौ ।
कति सिट लिएर संविधानसभामा जाने भन्ने पत्रकारको जिज्ञासामा उनले सिट सख्याको विषयमा दलहरुवीच छलफल भईरहेको जानकारी दिदै मुलुक निर्वाचनमा भाग लिने र नलिने दुई ध्रुवमा विभाजित रहेकोले सोही अनुसारको हैसियत संविधानसभामा आफूहरुको हुनु पर्ने उनको दावी थियो । उनले समान हैसियत  हुनु पर्ने संकेत गरे ।
गजुरेलले आफूहरुको संविधानसभामा सहभागिता नगराई सुझाव लिएर मात्रै संविधान बनाउने कुरा मान्य नहुने स्पष्ट पार्दै संविधानसभा बाहिर राखिए सडक आन्दोलनबाटै संविधान निर्माण गर्ने चेतावनी दिए । गजुरेलले आफूहरुको प्रस्ताव  र लचकतालाई अस्वीकार गरेर जवरजस्ती संविधान जारी गर्न खोजे मुलुक स्पष्ट भिडन्तमा जाने चेतावनी समेत दिए ।
आफूहरु संविधानसभाबाटै एक पटक संविधान निर्माण गर्न पहल गर्नु पर्ने पक्षमा रहेको उल्लेख गर्दै उनले भने–हामीहरु पहिलो संविधानसभाबाटै संविधान निर्माण गर्ने, दोस्रो त्यहाँ नदिए सडकमा जाने र जवरजस्ती गरे आन्दोलनमा जाने नीतिमा छौ ।
दलहरु संयूक्त राष्ट्रिय सरकार बनाउन तयार भए आफूहरु सरकारमै समेत सहभागि हुन तयार रहेको बताउँदै गोलमेच सम्मेलनकै आधारमा सरकार र संविधानसभा निर्माण गर्नु पर्ने पुरानो प्रस्ताव दोहोरयाए ।
पहिला धाँधली भएकोले संविधानसभामा नजाने भन्ने अनि फेरि विजयजुलुस निकाल्ने निर्णय गर्ने एकीकृत नेकपा माओवादीसँग अब पार्टी एकीकरण त के कार्यगत एकता समेत हुन नसक्ने स्पष्ट पार्दै गजुरेलले एकीकरण गर्ने आफूहरुको एजेण्डा नै नभएको बताए । उनले भने–पहिला धाधली भयो, संविधानसभामा जान्न भनेपछि कार्यगत एकताको विषयमा छलफल भएको हो । तर उहाँहरुले १८० डिग्रि यूटर्न हुँदै विजय जुलस निकाल्ने निर्णय गरेपछि अब कार्यगत एकता समेत हुन सम्भव छैन ।
पत्रकारहरुको जिज्ञासमा उनले मोहन बैद्यलाई अध्यक्ष स्वीकार गरे पनि पार्टी एकता हुनै नसक्ने ठोकुवा गरे । अध्यक्षलाई लिएर पार्टी विभाजन नभई सिद्धान्तले विभाजन भएको भन्दै एमाओवादी र आफूहरु दुई ध्रुवमा रहेको बताए । संविधानसभाको समिकरण नै अर्को हुने देखेपछि आफूहरुलाई संविधानसभाको निर्वाचन बाहिर योजनाबद्ध रुपमा राखेको गजुरेलको दावी थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us