चीन भन्छ–चाँडो संविधान बनोस्, शान्ति, स्थिरता र विकासका काम तीव्र होस्

काठमाण्डु टुडे २०७० मंसिर ११ गते ७:५६ मा प्रकाशित

काठमाण्डु ११ मंसिर–चीनले नेपालमा चाँडै संबिधान निर्माण गरी शान्ति,स्थिरता र बिकासलाई तीब्रता दिन सुझाव दिएको छ । काँग्रेसका उपसभापति रामचन्द्र पौडेलसँग नेपालका लागि चिनियाँ राजदूत वु छुन्थाईले त्यस्तो धारणा व्यक्त गरेका हुन । china
उपसभापति पौडेल निवास बोहोराटारमा मंगलवार भएको भेटवार्तामा नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा चीनका राजदूत छुन्थाईले बधाई दिँदै संविधान निर्माण गरेर शान्ति, विकास र स्थिरताको मार्गमा नेपाल अघि बढोस् भन्ने चाहना व्यक्त गरेका हुन । ‘चाँडो संविधान बनोस्, नेपालमा शान्ति, स्थिरता र विकासको कामले तीव्रता लिनुपर्छ भन्ने चीनको चाहना छ’ चिनियाँ राजदूत छुन्थाईको भनाई उद्धृत गर्दै उपसभापति पौडेलले भने ।
सो अवसरमा उपसभापति पौडेलले निर्वाचनमा चीनका तर्फबाट भएको सहयोगका लागि आभार व्यक्त गर्दै राजनीतिक दलबीच सहमति जुटाएर संविधान लेखनको काम सक्ने र मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानेतर्फ अब ध्यान केन्द्रित गरिने बताएका थिए । “निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ, अब हामी सहमति जुटाएर संविधान लेखनमा केन्द्रित हुन्छौँ र विकासको कामलाई पनि अघि बढाउँछौँ,” उपसभापति पौडेलले भने । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us