दुई बालकको उद्धार

काठमाण्डु टुडे २०७० मंसिर ११ गते ४:३९ मा प्रकाशित

धनगढी, ११ मंसिर–मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनःस्थापना गृह धनगढीले कैलालीको त्रिनगर सीमा नाका हुँदै भारततर्फ लैजाँदै गरिएका दुई बालकको सोमबार साँझ उद्धार गरेको छ । गेटा गाविस–७ घर भएका १५ वर्षीय दीलबहादुर चौधरी र १२ वर्षीय वीरेन्द्र चौधरीलाई उद्धार गरिएको पुनःस्थापना गृहका कार्यक्रम संयोजक वासुदेव भट्टराईले जानकारी दिए ।

भारतको सुरत भन्ने ठाउँमा काममा लगाइदिन्छु भन्दै गेटा गाविसकै मानबहादुर चौधरीले ललाइफकाई घर नजिकैको विद्यालय जाने बाटोबाटै लिएर यी बालकलाई सीमापारिको गौरीफँटा बसबिसौनी हुँदै भारत लैजान लागेको अवस्थामा उद्धार गरिएको हो । बालकलाई ललाइफकाई भारत लैजाने प्रयासमा रहेका मानबहादुर भने बसबिसौनीबाटै फरार भएका छन् । उद्धार गरिएका दुई बालकलाई परिवारको जिम्मा लगाइसकिएको छ ।

पछिल्लो पटक बालबालिकालाई विभिन्न प्रलोभनमा पारी भारत लैजाने र विभिन्न जोखिमपूर्ण काममा लगाउने गरेको संस्थाको अध्ययनमा जनाइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us