समृद्धिका लागि पहल थाल्ने सभासदको बचन

काठमाण्डु टुडे २०७० मंसिर ११ गते ४:१५ मा प्रकाशित

दाङ, ११ मंसिर–नेपाली काँग्रेस दाङ क्षेत्र नं. ४ र ५ का नवनिर्वाचित संविधानसभा सदस्यहरुले यस क्षेत्रको विकासका लागि पहल थाल्ने बचन दिएका छन् ।

उद्योग वाणिज्य संघ तुलसीपुरले आयोजना गरेको स्वागत एवम् बधाई ज्ञापन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नं. ५ का निवनिर्वाचत संविधानसभा सदस्य दीपक गिरीले गाउँगाउँमा जनताले विकास माग गरेको भन्दै अब पश्चिम दाङको विकास र तुलसीपुरको समृद्धिका लागि आफूहरु लाग्ने बताए । कार्यक्रममा गिरीले दाङमा सडक सञ्जालको विस्तार, पश्चिम दाङको मूल सडक तथा अन्य सहायक सडकहरुको स्तरोन्नतिको प्रक्रिया सुरु भएको भन्दै चाँडै नै सबै सडक योजनाले पूर्णता पाउने दावी गरे ।

कार्यक्रममा उद्योगी व्यापारीहरुले तुलसीपुर उद्योग वाणिज्य संघले उठाउँदै आएका विकास निर्माणका मुद्दाहरुमा पहलकदमी चाल्न आग्रह गरेका थिए ।

यसैबीच तुलसीपुर उद्योग वाणिज्य सङ्घले नवनिर्वाचित सभासद्हरुलाई समग्र विकासको पहलका लागि सात बुँदे ज्ञापनपत्र बुझाएको छ । टरिगाउँ एयरपोर्टको विस्तार र इन्धन डिपोको स्थापना, तुलसीपुर क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गरी सुरक्षा निकायहरुमा साधन स्रोतको व्यवस्था, सडक सञ्जालको विस्तार र स्तरोन्नति, तुलसीपुर नगरपालिकामा विभिन्न छ गाविस थप गरी क्षेत्र विस्तार, अनियमित तथा अव्यवस्थित लोडसेडिङ तत्काल व्यवस्थित र कर प्रणाली सरल र सहज हुनुपर्नेलगायतका माग समेटिएको ज्ञापनपत्र सङ्घका अध्यक्ष टेकनप्रसाद बस्नेतले सभासदद्वयलाई बुझाएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us