सर्वाधिक खोजीको सूचीमा रहेका चमार पक्राउ

काठमाण्डु टुडे २०७० मंसिर ११ गते ४:०६ मा प्रकाशित

कपिलवस्तु, ११ मंसिर–सर्वाधिक खोजीको सूचीमा रहेका एक जना आरोपीलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । जनतान्त्रिक तराई मुक्ति मोर्चा भगतसिंह समूहमा संलग्न रही जिल्लाका विभिन्न स्थानमा आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले कपिलबस्तुको वीरपुर–८ का ३० वर्षीय राजु कोरी चमारलाई पक्राउ गरेको हो ।

कोरीलाई प्रहरीले जिल्लाको चन्द्रौटा नजिकबाट पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले तौलिहवामा पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गरेको हो । पक्राउ परेका कोरीमाथि जिल्लाका विभिन्न स्थानमा बम विस्फोट, आगजनी र लुटपाटलगायतका आधा दर्जन घटनामा संलग्न रहेको आरोप छ ।

चमारलाई जिल्ला अदालतबाट म्याद थप गराई थुनामा राखी थप अनुसन्धान गरिने प्रहरी उपरीक्षक रवीन्द्र शर्माले जानकारी दिए ।

पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले जिल्लामा सर्वाधिक खोजीको सूचीमा रहेका अपराधीहरुलाई पक्राउ गरी जिल्लाको शान्ति सुरक्षा मजबुत पार्न स्थानीय प्रशासन सक्रिय रहेको बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us