शरणार्थीलाई कोइला

काठमाण्डु टुडे २०७० मंसिर ११ गते ३:३९ मा प्रकाशित

दमक, ११ मंसिर–खाना पकाउन इन्धनका रुपमा प्रयोग गरिने कोइला शरणार्थी शिविरमा पुनः वितरण गर्न थालिएको छ । विगत चार महिनादेखि कोइला वितरण नगर्दा शिविरमा ठूलो समस्या देखापरेको थियो ।

शिविर सचिव सन्चहाङ सुब्बाले समयमा कोइला नदिएपछि शिविरमा भएका पुराना घरको भाटा, हँसिया, दुम्से सामुदायिक वनको सिटा, दाउरा तथा चुरे क्षेत्रका केही सामुदायिक वनको वन पैदावरमा भर पर्नुपरेको बताए ।

बाक्लो समुदायमा बसोवास गर्दै आएका भुटानी शरणार्थीहरुलाई लुथरन विश्व फेडेरेसनमार्फत ठेक्दारले कोइला वितरण गर्दै आएको थियो । कोइला वितरण बन्द हुँदा शरणार्थी शिविरका अधिकांश मानिस नजिकै रहेको वनमा अवैधानिक रुपमा प्रवेश गरी दाउराका रुपमा प्रयोग हुने मसिना सिटा, झाडी ओसार्न बाध्य भएका थिए ।

यता हँसिया दुम्से सामुदायिक वनले कोइला वितरणमा ढिला नगर्न सरोकारवाला संस्थालाई दबाब दिइरहेको अवस्थामा एक सातादेखि कोइला वितरण सुरु गरिएको हो । शिविरका केही सेक्टरमा भने अझै कोइला वितरण गर्न बाँकी रहेको शरणार्थीले बताएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us