
काठमाण्डु, ११ मंसिर–अमेरिकाले सहमतीय राजनीतिबाट अघि बढन नेपालका राजनीतिक दललाई सुझाव दिएको छ । नेपालका लागि अमेरिकी राजदुत पिटर डब्ल्यू बोडेले काँग्रेस सभापति सुशिल कोइराला र एकीकृत माओवादीका बरिष्ठ नेता डा बाबुराम भट्टसँग मंगलवार भेटवार्ता गरी त्यस्तो सुझाव दिएका हुन ।
आफनै निवास सानेपामा भएको भेटवार्तामा नेता डा भट्टराईले संविधानसभा निर्वाचनमा भएको धाँधलीबारे निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएको उनका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए । आफ्नो पार्टी शान्ति र संविधान निर्माणको प्रक्रियाबाट बाहिर जान नसक्ने बताउँदै नेता डा भट्टराईले बाहिर आएका घटनाको छानबिन हुनुपर्ने र त्यसमा सरोकार भएका निकायले समयमै प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।
शान्ति र संविधानको प्रक्रियालाई पूर्णता दिन सरकार र संविधानका विषयमा राजनीतिक सहमतिका आधारमा टुङ्ग्याउनुपर्ने आफ्नो पार्टीको सर्त रहेको भट्टराईले राजदूत बोडेलाई जानकारी गराएका थिए ।
छलफलका क्रममा राजदूत बोडेले नेपालको राजनीति सहमतिका आधारमा अघि बढोस् भन्ने आफ्नो मुलुकको चाहना रहेको बताएका थिए ।
यसैगरी कोइराला निवास महाराजगन्जमा भएको भेटघाटमा राजदूत बोडेले राजनीतिक स्थायित्व कायम गरी छिटोभन्दा छिटो संविधान लेखन कार्यमा अग्रसर हुन काँग्रेस सभापति सुशिल कोइरालालाई सुझाव दिएका छन ।
सहमतिका आधारमा सबै राजनीतिक दललाई विश्वासमा लिएर काम गर्न सल्लाह दिँदै राजदूत बोडेले सभापति कोइरालाको नेतृत्वमा रहेको काँग्रेसले निर्वाचनमा प्राप्त गरेको सफलताका लागि शुभकामना दिएको कोइरालाका स्वकीयसचिव लक्ष्मण ढकालले जानकारी दिए ।