‘आरुषी र हेमराजको हत्या आमा–बुवाबाटै’

काठमाण्डु टुडे २०७० मंसिर ११ गते ३:०१ मा प्रकाशित

Aarushi-Talwarगाजियावाद, ११ मंसिर–भारतको बहुचर्चित आरुषी–हेमराज हत्याकाण्डमा दोषी पाइएका आरुषीकै आमा–बुवालाई अदालतले मंगलबार सजाय सुनाउँदै छ । सम्भवतः उनीहरूले आजीवन कारावास वा मृत्युदण्ड पाउने भारतीय सन्चार माध्यमले जनाएका छन् ।

आफ्नी १४ बर्षीया छोरी आरुषी र घरेलु कामदार हेमराजको हत्यामा गाजियावाद अदालतले आरुषीकै बाबु राजेश र आमा नुपुर तलवारलाई सोमबार दोषी ठहर गरेको हो । तलवार दम्पतीले नयाँदिल्लीस्थित आफ्नै घरमा सन् २००८ मा आरुषी तथा उनीहरूका नेपाली कामदार हेमराज बञ्जाडेको घाँटी काटेर हत्या गरेका थिए । बन्जाडे अर्घाखाँचीका हुन् ।

न्यायाधीश श्यामलालले गाजियावादको अदालतमा आरुषीकै आमा–बुवा दोषी रहेको निर्णय सुनाउँदा तलवार दम्पती रोएका थिए । निर्णय सुनेपछि अदालतबाहिर पत्रकारहरूलाई बाँडिएको वक्तव्यमा तलवार दम्पतीले आफूहरूले नगरेको अपराधका लागि आफूहरू दोषी प्रमाणित भएकोमा निकै दुखी भएको र आफूहरूले पराजय अस्वीकार गर्दै न्यायका लागि सङ्घर्ष गर्ने बताएका छन् । यी दम्पतीले आफूहरू प्रहरीको अक्षमता तथा आमसञ्चारको अनावश्यक आरोपका कारण पीडित भएको बताएका छन् ।

अनुसन्धानकर्ताहरूले आरुषीलाई ४५ वर्षीय घरेलु कामदार बन्जाडेसँग अनुचित परिस्थितिमा फेला पारेकाले उनीहरूका बाबुआमाले मारेको आरोप लगाएका छन् । आरुषीलाई सन् २००८ को मे महिनामा आफ्नै ओछ्यानमा मरेको अवस्थामा फेला पारिएको थियो भने यसको आरोप लागेका हेमराजको शव पनि एक दिनपछि सोही घरको छतमा फेला परेको थियो ।

प्रहरीले यस विषयमा ठोस प्रमाण फेला पार्न नसकेपछि यस मुद्दालाई सन् २०१० मा टुङ्ग्याएको थियो । तर तलवार दम्पतीले हत्यारालाई खोजी गर्नैपर्ने भनी अदालतमा निवेदन दिएपछि यो मुद्दा पुन खोलिएको थियो र पछि उनीहरूमाथि नै हत्याको आरोप लाग्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us