माधव नेपालबाट प्रधानमन्त्री बन्न लविङ सुरु

काठमाण्डु टुडे २०७० मंसिर ११ गते ३:३५ मा प्रकाशित

prachanda-and-madhav-nepalकाठमाण्डु, ११ मंसिर– संविधानसभा निर्वाचनको अन्तिम परिणाम आउन बाँकी नै छँदा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री बन्ने कसरत थालेका छन् ।

नेपालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोमबार कोटेश्वरस्थित आफ्नै निवासमा भएको भेटमा आफूलाई प्रधानमन्त्री बनाउने काममा अग्रसर भइदिन आग्रह गरेका हुन् । संविधानसभा निर्वाचनमा काठमाण्डु–१ बाट निर्वाचित भएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले पार्टीले जिम्मेवारी दिए आफू प्रधानमन्त्रीका लागि तयार रहेको बताएका थिए ।

नेपालले समानुपातिक र प्रत्यक्षतर्फ गरी एमालेको २ सय भन्दा बढी र एकीकृत माओवादीले मनोनितसमेत गर्दा ८५ देखि ९० सिट ल्याउने भएकाले केही साना दलको समर्थनमा दुई पार्टी मिलेर सरकार बनाउने प्रस्ताव अघि सारेको स्रोतले बतायो । ‘हाम्रो २ सय भन्दा बढी सिट आउँछ, तपाईंहरुको प्रत्यक्ष, समानुपातिक र मनोनितसमेत गर्दा ८५ देखि ९० सिट आउन देखियो’, नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो’, ‘म प्रधानमन्त्री हुन्छु, तपाईंले पहल गरिदिनुपर्‍यो ।’

उनले प्रचण्डलाई निर्वाचनमा भएको पराजय स्वीकार गर्दै सहमतिमा आउन आग्रहसमेत गरेका थिए । आफू प्रधानमन्त्री भए सरकार गठन र संविधान लेखनमा माओवादीलाई समेत मिलाएर लैजान सक्ने दाबी उनको थियो ।

जवाफमा प्रचण्डले प्रधानमन्त्रीका लागि शुभकामना दिंदै मतगणनाका क्रममा भएको धाँधलीबारे स्वतन्त्र छानविन नभएसम्म आफ्नो पार्टी संविधानसभा र सरकारमा सहभागी हुन नसक्ने अडान दोहोर्‍याएका थिए ।

सोमबारै तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भएको भेटमा समेत नेता नेपालले आफू प्रधानमन्त्री बन्न लागेकाले लागि सघाउन आग्रह गरेका थिए । गत संविधानसभा निर्वाचनमा काठमाण्डु र रौतहटबाट पराजित भएर पनि नेपाल प्रधानमन्त्री बनेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us