सुजाता भन्छिन्: कोइराला, विद्या भन्छिन्: केपी

काठमाण्डु टुडे २०७० मंसिर १० गते १२:१४ मा प्रकाशित

Sujata and bidhyaकाठमाण्डु, १० मंसिर– कांग्रेस र एमालेका केही नेत्रीहरुले सहमतिकै आधारमा नयाँ सरकार र संविधान निर्माण हुनु पर्ने धारणा राख्दै आ–आफ्नो पार्टीका नेता प्रधानमन्त्री हुनु पर्ने जिकिर गरेका छन् ।

काठमाण्डुमा आयोजित साक्षात्कारमा नेत्रीहरुले जुन दलको बहुमत आएपनि दुई तिहाईको खेलमा नलागेर सहमतिको राजनीति गर्न आग्रह गरेका हुन् । तर उनीहरुले प्रधानमन्त्रीलाई कसलाई बनाउने भन्ने प्रश्नमा यसमा विवाद गर्न नहुने भन्दै आफ्नै पार्टीका नेताका नाम लिए ।

प्रधानमन्त्री सुशीलः सुजाता

काग्रेसकी नेत्री सुजाता कोइरालाले कांग्रेस ठूलो दल भए सभापति सुशील कोइरालाको नेतृत्वमा सहमतिको सरकार निर्माण गरिने बताइन् । नेपाली जनताले लोकतान्त्रिक संविधान निर्माणको लागि नै आफ्नो मत प्रकट गरेकोले त्यो जारी गर्न सबै मिलेर अघि बढ्नु पर्ने उनको भनाइ थियो ।

उनले प्रधानमन्त्रीको लागि फेरि पनि झगडा भने गर्न नहुने तर्क गर्दै कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउनु पर्ने बताइन् । एमाओवादीको जनमत नस्वीकार्ने कुरा सहि नभएको भन्दै आफू हारेपनि मुलुक जित्नु पर्ने मान्यताबाट अघि बढ्न नेत्री कोइरालाले सुझाव दिइन् ।

प्रधानमन्त्री केपीः विद्या

एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले पनि नेकपा एमाले संविधान र सरकार निर्माणकालागि सहमतिमै अघि बढ्नु पर्ने पक्षमा रहेको उल्लेख गरिन् । उनले एमालेले सहमतिकै आधारमा सरकार निर्माण गर्न पहल गर्ने जानकारी दिदै जनमत विरुद्ध गएर अधिनायकबाद तर्फ उन्मुख नहुने एमाओवादीलाई सुझाव दिइन् ।

एमालेलाई सरकारको नेतृत्व गर्ने जिम्मा आए प्रभावशाली नेता केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने भन्दै यसमा पार्टी भित्र कुनै विवाद नरहेको भण्डारीले स्पष्ट पारिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us