एमालेले अघि सार्‍यो सरकार गठनका तीन विकल्प

काठमाण्डु टुडे २०७० मंसिर १० गते १०:४४ मा प्रकाशित

uml officeकाठमाण्डु, १० मंसिर–नेकपा एमालेले आगामी सरकार गठनका तीन विकल्प अघि सारेको छ । एमालेको नेतृत्वमा काँग्रेस, एकीकृत माओवादी र वैद्य माओवादीको सहभागीतामा सरकार गठनलाई उसले पहिलो प्राथमिकतामा राखेको छ ।

दोस्रो विकल्पमा काँग्रेसको नेतृत्वमा सरकार गठन गर्ने र एमाले विपक्षमा बस्ने तथा तेस्रो विकल्पमा एमाले–काँग्रेसको नेतृत्वमा आलोपालो प्रधानमन्त्री हुने गरी सरकार गठन गर्न सकिने उसको प्रस्ताव छ ।

कोटेश्वरस्थित आफ्नै निवासमा सोमबार सन्चारकर्मीसँग कुरा गर्दै एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सरकार गठनका विकल्प प्रस्तुत गरेका हुन् । नेता नेपालले संविधानसभा निर्वाचन परिणामबाट जुन दल ठूलो बने पनि संविधान निर्माण गर्न सहमतिको सरकार गठन गर्नुपर्ने बताए ।

सहमतिको पहल तिव्र

एमाओवादी अध्यक्ष प्रचण्ड र नेकपा–माओवादीका सचिव सीपी गजुरेलसँग सोमबार छुट्टा छुट्टै भेटघाट गरेका नेता नेपालले माओवादीलगायतका दलहरुलाई संविधान लेखन प्रक्रियामा सहभागी गराउन आवश्यक परे संविधान संशोधन गर्न पनि तयार रहेको स्पष्ट पारे ।

नेता नेपालले सोमबारै तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि आफ्नै निवासमा छलफल गरेका छन् ।

दोस्रो संविधानसभा निर्वाचनबाट आफ्नो पक्षमा मत परिणाम आएलगत्तै काँग्रेस र एमालेले सहमतिको पहल शुरु गरेका छन् । यसैक्रममा काँग्रेस सभापति सुशील कोइरालाले एमाओवादीका नेतासँग विहान छलफल गरेका छन् ।

प्रचण्डलाई भेट्न लाजिम्पाट पुगेका कोइरालाले जनमत स्वीकार्दै संविधानसभामा सहभागी भएर संविधान लेखन प्रक्रिया शुरु गर्न आग्रह गरेका थिए । तर, प्रचण्डले मतगणना पुनरावलोकनको पुरानै अडान दोहोर्याएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us