अज्ञात समूहबाट कलेज तोडफोड

काठमाण्डु टुडे २०७० मंसिर १० गते ६:१३ मा प्रकाशित

चितवन, १० मंसिर-चितवनको भरतपुर नगरपालिका वडा नम्बर ११ मा रहेको आइएसएमटी कलेजमा अज्ञात समूहले सोमबार बिहान तोडफोड गरेको छ । गत वर्षदेखि बेलायती शैक्षिक उपाधिको अध्ययनअध्यापन गर्नका लागि सुरु भएको सो कलेज दर्ता नभएको भन्दै अभिभावकले विद्यार्थी अन्यत्र पढाउन थालेकाबेला कलेजमा तोडफोड भएको हो ।

तोडफोडबाट कलेजमा रहेका दुई थान कम्प्युटर र झ्यालढोकाका सिसा फुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाँच जनाको समूहमा रहेका नचिनेका व्यक्तिहरुले कलेजमा तोडफोड गरेको बताइएको छ ।

घटनापछि तोडफोडमा संलङ्ग्न रहेको आशङ्कामा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us