‘देश ४७ सालकै अवस्थामा फर्कियो’

काठमाण्डु टुडे २०७० मंसिर १० गते ५:४७ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– नेकपा–माओवादीका एक नेताले एकीकृत नेकपा माओवादीसँग तत्काल पार्टी एकता असम्भव रहेको CP-Gajurelबताएका छन् । पार्टी एकताकालागि एमाओवादीको हेटौंडा महाधिवेशनको निर्णय बाधक भएको उनको भनाइ छ ।

काठमाण्डुस्थित पार्टी निकट एक एफएमसँग सोमबार विहान कुरा गर्दै वैद्य माओवादी उपाध्यक्ष सीपी गजुरेलले पार्टी एकता नभए पनि कार्यगत एकता भने हुन सक्ने बताए । तर, त्यसकालागि पनि एमाओवादी नेताहरुले संविधानसभा सदस्यबाट राजीनामा दिनुपर्ने उनले सर्त राखे ।

‘अहिलेकै अवस्थामा एकता त सम्भव छैन तर कार्यगत एकता हुनसक्छ,’ उपाध्यक्ष गजुरेलले भने, ‘त्यसकालागि राजीनामा दिएर संविधानसभाबाट बाहिरिनु पर्छ ।’ दोस्रो संविधानसभाबाट वास्तविक जनताको भावना समेटिने संविधान नबन्ने देखेरै आफूहरुले बहिस्कार गरेको उनले दोहोर्याए । ‘अहिले एमाओवादीले बल्ल थाहा पायो, हामीलाई त विदेशीको ग्रान्ड डिजाइनमा भएको निर्वाचनबाट संविधान बन्दैन भन्ने पहिले नै थाहा थियो,’ गजुरेलले भने ।

संविधान मान्न बाध्य नहुने

काँग्रेस–एमाले लगायत दलले बहुमतको आधारमा नयाँ संविधान जारी गर्न सक्ने उनको भनाइ छ । तर, त्यो संविधान आफूहरुलाई स्वीकार्य नहुने गजुरेलले स्पष्ट पारे । उनले देश फेरि पनि २०४७ सालकै अवस्थामा फर्किएको टिप्पणीसमेत गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us