ज्वाला सिंह समूहका कार्यकर्ता थुनामा

काठमाण्डु टुडे २०७० मंसिर १० गते ४:५७ मा प्रकाशित

राजविराज, १० मंसिर । आफ्नै साथीको गोली हानी हत्या गरेको आरोपमा सप्तरीको कोचाभखारी गाविस–६ लोखरम टोलका २८ वर्षीय राकेश भन्ने वीरेन्द्र साह सोनारलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । लौनिया गाविस–१ का २५ वर्षीय शैलेस मण्डलको अपहरणपछि गोली हानी हत्या गरेको आरोपमा तराईमा सशस्त्र संघर्र्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह समूहका कार्यकर्ता वीरेन्द्र पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका हुन् ।

जिल्ला अदालतका अतिरिक्त जिल्ला न्यायाधीश नवराज दाहालको एकल इजलासले हत्या घटनाका मुख्य आरोपी वीरेन्द्रलाई आइतबार साँझ पुर्पक्षका लागि राजविराज कारागारमा थुन्ने आदेश भएको अदालतले जानकारी दिएको छ । हत्या आरोपमा प्रहरीको सर्वाधिक खोजीमा रहेका फरार साहलाई भारतीय प्रहरीले गत बुधबार नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पातोलाई बिहीबार जिम्मा लगाएको थियो ।

सप्तरी प्रहरीका अनुसार २०६६ चैत ३१ गते मण्डलको अपहरणपछि गोली हानी हत्या गरेको आरोपमा उनीमाथि कत्र्तव्य ज्यान मुद्दा चलिरहेको थियो । सोही घटनामा यसअघि गत असोज २० गते राति गिरफ्तार भएका लौनिया गाविस–१ का ४५ वर्षीय मनिष भन्ने मुनेश्वर मण्डल गत कात्तिक २४ गते नै जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा छन् ।

सप्तरी प्रहरीका अनुसार भारतको बिहार राज्यअन्तर्गत निर्मली प्रखण्डको हरियाही ग्राम पञ्चायतस्थित ससुराली घरबाट गिरफ्तार भएका मनिष जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह समूह) का सप्तरी जिल्ला इन्चार्जसमेत हुन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us