एमाले सचिवविरुद्ध किरियापुत्री जुलुस

काठमाण्डु टुडे २०७० मंसिर १० गते ४:३५ मा प्रकाशित

CPN-UMLजाजरकोट, १० मंसिर–नेकपा एमाले भेरी अञ्चल कमिटीका सचिव तथा पूर्व सांसद रत्नप्रसाद शर्माविरुद्ध एमाले कार्यकर्ताहरुले जाजरकोट सदरमुकाम खलङ्गामा सोमबार किरियापुत्री जुलुस निकालेका छन् । संविधानसभाको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन अन्तर्घात गरेको भन्दै उनीहरुले ब्यानर, सेतो कपडाको पहिरनसहित शङ्ख बजाउँदै जुलुस निकालेका हुन् ।

संविधानसभाको चुनावमा जाजरकोट क्षेत्र नं. २ मा एमालेका तर्फबाट उम्मेदवार बनेका कृष्णबहादुर बुढालाई हराउन अञ्चल सचिव शर्माले आर्थिक प्रलोभनमा परी नेपाली काँग्रेसका राजीवविक्रम शाहलाई सहयोग गरेर पार्टीलाई घात गरेको आरोप छ । पार्टी संठनमा बलियो मानिएको एमालेले चुनाव हारेपछि आन्तरिक समिक्षा गर्दै शर्माले पैसा खाएर काँग्रेस उम्मेदवारको पक्षमा लागेको एमालेका पराजित उम्मेदवार बुढाले आरोप लगाए ।

मतगणनाको अन्तिम दिन शनिबार काँग्रेसका उम्मेदवार शाहले जित्ने निश्चित हुने बित्तिकै शर्मा प्रहरी कार्यालय गएर बसेको बताइएको छ ।

शाहले बुढालाई २ सय ८६ मतको अन्तरले पराजित गरेका थिए । काँग्रेसका शाहले ९ हजार ३५७ र एमालेका बुढाले ९ हजार ७१ मत पाएका थिए ।

आइतबार साँझ एमाले कार्यकर्ताहरुले शर्माविरुद्ध चर्का नारा लगाउँदै पार्टी छोड्न चेतावनी दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us