धाँधली छानबिन गर्न एमाओवादी समिति

काठमाण्डु टुडे २०७० मंसिर १० गते १०:४९ मा प्रकाशित

maoist_buildingकाठमाण्डु, १० मंसिर– चुनावको समिक्षा गर्दै एकीकृत माओवादीको केन्द्रीय समितिको बैठकले चुनावको धाँधलीबारे अध्ययन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।

सोमबार पेरिसडाँडामा बसेको एमाओवादी केन्द्रीय समिति बैठकले वर्षमान पुन अनन्त, रामचन्द्र झा, खिमलाल देवकोटा, जनकलाल जोशी र रामनारायण विडारी सदस्य रहनेगरी छानबिन समिति गठन गरेको । समितिलाई १० दिनभित्र धाँधलीको अध्ययन गरी प्रतिवेदन बुझाउन केन्द्रीय समितिले निर्देशन दिएको छ । समितिको संयोजकत्व वरिष्ठताका आधारमा नेता पसनले गर्ने छन् ।

एमाओवादी केन्द्रीय समितिले धाँधलीबारे छानबिन गर्न सरकारले पनि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गरेको छ । निर्वाचनको आधिकारिकताका लागि पनि निर्वाचनमा भएको चलखेलबारे सरकारले अनुसन्धान गरी स्पष्ट पार्नुपर्ने एमाओवादी भनाइ छ ।

बैठकले सरकार र संविधान निर्माण प्रक्रिया सहमतिकै आधारमा अघि बढाइए मात्र संविधानसभामा जान सकिने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘सहमतिमा सरकार र संविधान निर्माण प्रक्रिया अघि बढेमा संविधानसभा जान सकिने नत्र नजाने’ बताएका प्रवक्ता अग्नि सापकोटाले जनाए ।

यसअघि केन्द्रीय कार्यालय, पूर्वस्थायी समिति, पूर्वपोलिटव्युरो र व्युरो इन्चार्जहरुको संयुक्त बैठकमा नेताहरुले निर्वाचनमा भएको धाँधलीबारे २ सय ४० वटै क्षेत्रमा भण्डाफोर अभियान चलाउनुपर्ने सुझाव दिएका थिए । साथै पार्टी भित्र र पार्टी बाहिर स्वतन्त्र व्यक्तिको नेतृत्वमा छुट्टाछुट्टै छानविन समिति बनाउनुपर्ने सुझावसमेत आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us