चुनावपछि पहिलोपटक काँग्रेस–एमाओवादी शीर्ष नेताबीच भेट

काठमाण्डु टुडे २०७० मंसिर १० गते ४:३८ मा प्रकाशित

Prachand-and-Sushilकाठमाण्डु, १० मंसिर– नेपाली काँग्रेसले संविधानसभामा सहभागी भएर राजनीतिक निकास निकाल्न एकीकृत माओवादीलाई आग्रह गरेको छ । काँग्रेस सभापति सुशील कोइरालाले सोमबार विहान एमाओवादी शीर्ष नेताहरुलाई भेटेर निर्वाचन परिणाम स्वीकार्दै संविधानसभामा सहभागी हुन आग्रह गरेका हुन् ।

भेटवार्ताकालागि प्रचण्ड निवास लाजिम्पाट पुगेका कोइरालाले नयाँ संविधान जारी गरी राजनीतिक निकास निकाल्ने जिम्मेवारीबाट कुनै पनि दल पन्छिन नहुने धारणा राखेका थिए । जवाफमा प्रचण्डले निर्वाचनमा धाँधली भएकोले निर्वाचन परिणाम पुनरावलोकन हुनुपर्ने अडान दोहोर्याएका थिए ।

‘उहाँले संविधानसभामा आउनु पर्यो, नयाँ संविधान ल्याउन सहयोग गर्नु पर्यो भन्नुभयो । तर हामीले अहिलेको निर्वाचन परिणाम बनावटी भएकाले यथास्थितिमा संविधानसभामा सहभागी नहुने स्पष्ट धारणा राख्यौं,’ भेटमा सहभागी एमाओवादी नेता नारायणकाजी श्रेष्ठले भने ।

संविधानसभा निर्वाचनको प्रत्यक्षतर्फको परिणामबाट पहिलो पार्टी बनेलगत्तै नेपाली काँग्रेसले एमाओवादी लगायत असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउन छलफल थालेको छ । एमाओवादीको केन्द्रीय समिति बैठक बस्नु अघि काँग्रेस सभापति सुशील कोइरालाले एमाओवादी शीर्ष नेताहरुलाई भेटेका हु्न् । भेटवार्तामा प्रचण्डसहित नेताहरु बाबुराम भट्टराई र श्रेष्ठ सहभागी थिए । दोस्रो संविधानसभा निर्वाचनपछि काँग्रेस र एमाओवादीका शीर्ष नेताहरुबीच भेट भएको यो पहिलोपटक हो । कोइरालालाई भावि प्रधानमन्त्रीको रुपमा अघि सारिएको छ ।

एकीकृत माओवादीले भने निर्वाचनमा धाँधली भएको भन्दै संविधानसभामा सहभागी नहुने घोषणा गरेपछि राजनीतिक तरंग उत्पन्न भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us