एमाओवादीबाट मोर्चाबन्दी प्रयास सुरु

काठमाण्डु टुडे २०७० मंसिर ९ गते १२:४० मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– संविधनसभा निर्वाचनमा अनपेक्षित हार व्यहोरेको एकीकृत माओवादीले मोर्चाबन्दीको प्रयास थालेको छ ।
prachanda-baidhyaएमाओवादीले निर्वाचन बहिस्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, निर्वाचनमा सहभागी भएका उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम तथा अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा यादव र राईलाई भेटेलगत्तै माओवादी शीर्ष नेता वैद्यसहित सो पार्टीका नेता भेट्न कृष्णबहादुर महराको निवास ललितपुरको धोवीघाट पुगेका थिए ।

दुवै भेटमा संविधानसभा निर्वाचन परिणाम र भावी रणनीतिबारे छलफल भएको थियो । फोरम र संघीय समाजवादीले माओवादीले जस्तै मतगणनाका क्रममा धाँधली भएकाले पुनरावलोकनको माग गर्दै आएका छन् ।

वैद्य माओवादीले भने यसअघि नै संविधानसभा प्रतिक्रान्तिकारीहरुको हतियार बनिसकेको निष्कर्ष निकालिसकेको छ । दुई माओवादी नेताहरुको छलफलमा एमाओवादीबाट अध्यक्ष पुष्पमल दाहाल ‘प्रचण्ड’, नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र महरा तथा नेकपा–माओवादीका तर्फबाट अध्यक्ष वैद्य, महासचिव रामबहादुर र सचिव देव गुरुङ सहभागी रहेको थिए ।  भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

एकताको विकल्प नरहेको निष्कर्ष:
स्रोतका अनुसार दुई माओवादीका नेता पार्टी एकताको विकल्प नभएकामा निष्कर्षनजिक पुगेका छन् । बैठकमा सहभागी एमाओवादीका एक नेताका अनुसार एकताको विकल्प नभएकामा मूलभूत रुपमा सहमति भएको छ । पहिलो चरणमा कार्यगत एकता गर्ने र त्यसलाई पार्टी एकताको तहसम्म विकास गर्नेबारे कुरा भएको ती नेताले बताए ।

‘परिस्थितिले दुई पार्टीबीच एकताको वातावरण बनेको छ’, ती नेताले भने, ‘पार्टी एकता नभई हामी अगाडि बढ्न सकिन्न ।’ उनले दुई पार्टी नमिले दुवैलाई अप्ठेरो पर्नेमा पनि सहमति भएको जानकारी दिए ।

स्रोतका अनुसार भेटमा वैद्य पक्षका नेताहरुले विगतमा भएका कमजोरी सच्याएर कार्यदिशा र कार्यनीतिमा रहेको अन्तर मिलाउन तयार भए पार्टी एकता हुनसक्ने बताएका थिए । वैद्य माओवादीले संविधानसभामा जनाने एकीकृत माओवादीको निर्णय स्वागतयोग्य रहेको भन्दै निर्णयबाट पछि नहट्न सुझाव दिएको बुझिएको छ । दुई पार्टीबीच सोमबार पुन: छलफल गर्ने सहमति भएको छ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us