विजयी उम्मेदवारहरु भन्छन्–लोकतान्त्रिक संविधान निर्माण पहिलो प्राथमिकता, विकास निर्माण दोस्रो प्राथमिकता

काठमाण्डु टुडे २०७० मंसिर ९ गते ९:२४ मा प्रकाशित

काठमाण्ठु,९ मङ्सिर-संविधानसभा निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगिरहेको बेला विजयी उम्मेदवारहरुले लोकतान्त्रिक संविधान निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
लामो समयसम्म राजनीतिक सङ्क्रमणलाई राख्न नहुने र मुलुकलाई नयाँ राजनीतिक दिशामा लैजान आ–आफ्नो स्थानबाट सहयोग गर्ने विजयी उम्मेदवारहरुको धारणा छ ।
अघिल्लो संविधानसभा निर्वाचनले गठन गरेको संविधानासभाले संविधान निर्माण गर्न नसकेको, राजनीतिक सङ्क्रमण बढेको, जनताको दैनिक जनजीवन कष्टकर बनेको, विकास निर्माणका कामसमेत अगाडि नबढेको भन्दै विजयी उम्मेदवारहरुले पहिलो एक वर्षमा संविधान निर्माणमा प्रतिबद्ध भएर लाग्ने र बाँकी समयमा जनताको जीवनस्तर उकास्न लागिपर्नेमा जोड दिएका छन् ।
मुख्य कुरा मुलुकलाई राजनीतिक रुपमा स्थायित्व दिन संविधान निर्माण नै पहिलो प्राथमिकताको विषय भए पनि मुलुकको आर्थिक विकासमा केन्द्रित हुने विजयी उम्मेदवारहरुको भनाइ छ ।
राजनीतिक अस्थिरताले जनताको दैनिक जनजीवन अस्तव्यस्त बनेको, मुलुकलाई अगाडि बढाउने क्षमता भएका युवा शक्ति विदेसिन बाध्य भएको अवस्थालाई हल गर्न र मुलुकमै रोजगारीको व्यवस्था गर्न पनि नवीन सोचको जरुरत रहेको छ ।
काठमाण्डु ४ बाट विजयी नेपाली काँग्रेसका युवा नेता गगन थापा भन्छन“जनताको ‘म्यान्डेड’ भनेको लोकतान्त्रिक संविधान निर्माण गर्ने र जनताको दैनिक जनजीवनमा देखिएका समस्या हल गर्नेतर्फ नै मेरो ध्यान केन्द्रित हुनेछ ।”
जनताले दिएको मतलाई सम्मान गरेर अगाडि जान र मुलुकलाई अगाडि बढाउन सबै राजनीतिक दलको उत्तिकै भूमिका हुने बताउँदै उनी मत परिणामलाई अस्वीकार गर्छु भन्ने एमाओवादीको भनाइ लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको बताउछन ।
नेकपा (एमाले)का तर्फबाट काठमाण्डु ३ मा विजयी उम्मेदवार रामेश्वर फुँयाल भन्छन–“अहिलेको जनमतले संविधान निर्माणमा लोकतान्त्रिक शक्तिहरु एकजुट भएर जानुपर्छ भन्ने देखिएको छ । यो जनतालाई सम्मान गर्दै संविधान निर्माणमा नै केन्द्रित हुन्छु ।”
यस्तै उनले काठमाण्डु उपत्यकामा पाँचवटा चक्रपथ र सडक सञ्जालको व्यवस्थापनमा जोड दिने र जनतालाई परिवर्तनको महसुस गराउने समेत आफ्नो लक्ष्य रहेको बताए ।
संविधानसभा निर्वाचन प्रचारप्रसारका क्रममा मत माग्ने क्रममा पासाङ ल्हामु राजमार्गको स्तरोन्नति गर्ने, विष्णुमती नदीको व्यवस्थापन गर्ने र स्थानीय क्षेत्रको विकास निर्माण आफ्नो पहिलो प्राथमिकता रहेको बताएका काठमाण्डु ७ मा एमालेका तर्फबाट विजयी उम्मेदवार रामवीर मानन्धर पहिलो प्राथमिकता संविधान निर्माण हो भन्छन ।
राष्ट्रिय समस्याको समाधान गर्नु नै प्रमुख लक्ष्य रहेको बताउने मानन्धर स्थानीय क्षेत्रको विकास निर्माण खोजेका जनतालाई सम्मान गर्न पनि त्यसलाई ध्यान दिनुपर्नेमा जोड दिन्छन ।
काठमाण्डु १० बाट एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई हराएर एकाएक चर्चामा आएका नेपाली काँग्रेसका उम्मेदवार राजेन्द्र केसीको विचारमा लोकतान्त्रिक संविधान निर्माण गर्नु नै आफ्नो प्रमुख उद्देश्य रहेको बताउछन ।
राजनीतिक स्थिरता खोजेका जनतालाई लोकतान्त्रिक संविधान दिनु र स्थानीय समस्यालाई समाधान गर्नु नै आफ्नो प्रमुख कर्तव्य भएको केसी बताउछन । पराजित मानसिकतामा रुमल्लिएर बस्नुभन्दा जनमतलाई सम्मान गरेर अगाडि बढ्न उनको एमाओवादीलाई सुझाउ छ ।
ललितपुर १ बाट विजयी काँग्रेसका युवानेता एवम् तरुण दलका नेता उदयशम्शेर राणा पनि लोकतान्त्रिक संविधान निर्माणमा प्रतिबद्ध भएर लाग्ने बताउछन ।
राणाको प्रमुख राष्ट्रिय विषय भए पनि स्थानीय क्षेत्रको विकास निर्माण, खानेपानी समस्या, सडक, भौतिक पूर्वाधार निर्माण गर्ने लक्ष्य छ । मतदाताहरुले पनि विजयी भएका उम्मेदवारहरुलाई पहिलो प्राथमिकता संविधान निर्माणमा नै दिन आग्रह गरेका छन् ।
एमाले उम्मेदवार रामवीर मानन्धरको विजय ¥यालीमा सहभागी भएका बालाजुका रामहरि श्रेष्ठ भन्छन“यस पटकको निर्वाचनमा विजयी भएका उम्मेदवारले संविधान निर्माणलाई प्रमुख प्राथमिकता दिनुपर्दछ, त्यो सँगसँगै स्थानीय जनताको समस्या समाधानमा ध्यान दिनुपर्दछ ।”
यस्तै धारणा छ काठमाण्डु ६ का विजयी उम्मेदवार भीमसेनदास प्रधानको विजयी ¥यालीमा भेटिएकी गोङ्गबुकी शान्तिमाया महर्जनको । जनताले लोकतान्त्रि शक्तिलाई विजयी बनाएका कारण लोकतान्त्रिक संविधान निर्माणमा जुट्नु नै विजयी उम्मेदवारको पहिलो कर्तव्य भएको धारणा उनी राख्छिन ।
“अरू विषयलाई दोस्रो प्राथमिकतामा राखेर संविधान निर्माणमा केन्द्रित हुनु नै विजयी उम्मेदवारहरुको पहिलो कर्तव्य हुनुपर्दछ । यसो हुन नसके फेरि पनि संविधान निर्माणको विषय दोस्रो प्राथमिकतामा जान्छ”–महर्जनले भनिन ।
यस्तै कतिपय मतदाताले सरकारको विषयभन्दा पनि संविधान निर्माणको विषयलाई नै प्राथमिता दिनुपर्नेमा जोड दिएका छन् । काँग्रेसका उम्मेदवार नरहरि आचार्यको विजय ¥यालीमा सहभागी महाराजगन्जका मतदाता सुप्रिया शर्मा सरकार निर्माणको विषय दोस्रो प्राथमिकता हो, संविधान निर्माणको विषयलाई ध्यान दिनु निर्वाचित सभासदहरुको दायित्व भएको धारणा राख्छिन ।
संविधानसभा निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको, नयाँ जनादेश प्राप्त भएको अवस्थामा राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर अगाडि बढ्नु नै आजको आवश्यकता हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us