संविधानसभा निर्वाचनमा १२ दलको धरौटी जफत

काठमाण्डु टुडे २०७० मंसिर ९ गते ८:०३ मा प्रकाशित

बाजुरा, ९ मंसिर– संविधानसभा सदस्य निर्वाचनमा बाजुरामा १२ दलका उम्मेदवारको धरौटी जफत भएको छ ।
बाजुरामा १ स्वतन्त्रसहित १५ उम्मेदवार चुनावी मैदानमा थिए । सबैभन्दा कम अखण्ड सुदूरपश्चिम पार्टीका उम्मेदवार प्रकाशबहादुर शाहले १६ मत पाएका छन् । ५८ हजार ८ सय १० मतदाता रहेकामा ४८ हजार ७०४ मत खसेको थियो ।

जसमा एक हजार ७१ मत मात्र बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । धरौटी जफत हुने अन्यमा  राप्रपाका चन्द्रबहादुर शाहले ५३२, राप्रपा नेपालका जय गिरीले ६५, नेपाल परिवार दलका हरिचन्द्र पाध्यायले ७०, राष्ट्रिय जनमुक्ति पार्टीका पुने सार्कीले १७९, समाजवादी जनता पार्टीका धनबहादुर रावतले १३८, खस समावेशी पार्टीका डम्मरराज गिरीले १६०, अखण्ड नेपाल पार्टीका लालबहादुर सिंहले ५४ मत पाएका छन् ।

यस्तै संघीय समाजवादी पार्टीका शेरबहादुर शाहीले ८८, नेपाल आमा पार्टीका अमृत नाथले ५७ र स्वतन्त्रका देव गिरीले १७ मत प्राप्त गरेका छन् । निर्वाचन ऐनमा कुल खसेको मतको १० प्रतिशत मत प्राप्त नगर्नेको धरौटी जफत हुने प्रावधान छ ।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा एमालेका कर्णबहादुर थापा २२ हजार ४ सय ५८ मतसहित विजयी भएका थिए ।

थापाका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका मनबहादुर रावलले १८ हजार १ सय २५ र एकीकृत माओवादीका सहदेव बोगटीले पाँच हजार ६ सय १३ मत पाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us