
काठमाण्डु, ९ मंसिर–एकीकृत नेकपा माओवादीले निर्वाचनमा संस्थागत र संरचनागत ढंगले धाँधली भएको ठहर गरेको छ । माओवादीले धाँधलीको भण्डाफोर गर्न देशव्यापी अभियान चलाउने तयारी समेत गरेको छ ।
पूर्व पोलिटव्युरो सदस्य तथा राज्य समिति इन्चार्जहरुको आइतबार बसेको बैठकमा धारणा राख्नेहरुले संविधानसभा निर्वाचन शान्तिपुर्ण भए पनि मतपेटिका मतगणना स्थलसम्म पुर्याउदा योजनाबद्ध तरिकाले धाँधली भएकाले भण्डाफोर अभियान चलाउनपर्नेमा जोड दिएका हुन् । देशभर गुरुयोजना सहित निर्वाचनमा धाँधली भएको थुप्रै प्रमाण भेटिएकाले पुनरावलोकन नभएसम्म संविधानसभामा जान नहुने उनीहरुको सुझाव थियो ।
बैठकपछि प्रवक्ता अग्नी सापकोटाले आफ्ना मतदातालाई धन्यवाद दिन ७५ वटै जिल्लामा अभियान चलाउने, धाँधलीको छानबीन गर्न पार्टी समिति गठन गर्नुपर्ने लगायत सुझाव आएको जानकारी दिए । आइतबारको बैठकमा धारणा राख्ने २० जना नेतामध्ये अधिकांशले निर्वाचनमा भएको धाँधलीबारे छानविन गर्न पार्टी भित्र र अर्को छुट्टै स्वतन्त्र समिति गठन गर्नुपर्ने सुझाव दिएका थिए ।
निर्वाचनबारे समिक्षा गरी आगामी योजना बनाउन सोमबारदेखि केन्द्रीय समितिको बैठक बस्ने प्रवक्ता सापकोटाले जानकारी दिए । केन्द्रीय समिति बैठक सोमबार विहान ११ बजेदेखि पार्टी कार्यालय पेरीसडाँडामा बस्ने छ ।