सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने तयारी

काठमाण्डु टुडे २०७० मंसिर ९ गते १७:०१ मा प्रकाशित

sushil-daचितवन, ९ मंसिर– प्रत्यक्षतर्फको नतिजामा ठूलो दल बनेको नेपाली काँग्रेसले सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने तयारी गरेको छ । कोइराला पक्षका नेताहरुले यसको लविङ शुरु गरिसकेका छन् ।

त्यसो त पूर्वप्रधानमन्त्री तथा बरिष्ठ नेता शेर बहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल पनि प्रधानमन्त्रीका आकांक्षी छन् । नेकपा एमालेले पनि चुनाव प्रचारमा अबको प्रधानमन्त्री आफ्नै पार्टीको हुने बताएको थियो ।

तर, काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले भनिन्, ‘अबको प्रधानमन्त्री पार्टी सभापति सुशील कोइराला नै हुनुहुन्छ ।’ उनले सुशील कोइरालाको विकल्प अरु हुनै नसक्ने दावी समेत गरिन् । ‘काँग्रेसलाई ठूलो दल बनाउन सभापति सुशील कोइरालाको ठूलो देन छ,’ आइतबार चितवनका सन्चारकर्मीसँग कुरा गर्दै सुजाताले भनिन्, ‘अबको प्रधानमन्त्री उहाँ नै हो, अरु हुनै सक्दैन ।’

माओवादी पनि समेटेर संयुक्त सरकार बनाउँछौं : सुशील

नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले अब सबै राजनीतिक दलको सहमतिमा संयुक्त सरकार बन्ने बताएका छन् । प्रेस युनियन चितवन शाखाले आइतबार नारायणगढमा गरेको पत्रकार सम्मेलनमा कोइरालाले एकीकृत माओवादी, नेकपा–माओवादी माओवादी लगायत सबै दलको सहमतिमा सरकार बनाउने बताएका हुन् ।

‘ठूलो दल र बढी मत ल्याउँदैमा कसैले घमन्ड गर्ने अवस्था छैन,’ उनले भने, ‘प्रचण्ड र मोहन वैद्य जीलाई समेटेर संयुक्त सरकार बनाएर एक बर्षभित्र नयाँ संविधान बनाउँछौं ।’

एक प्रश्नको जवाफमा सभापति कोइरालाले एकीकृत नेकपा (माओवादी) संविधानसभामा आउँदैन भन्ने कुरा आफूले कल्पनासम्म पनि नगरेको बताए । ‘माओवादीकै मागमा संविधानसभाको निर्वाचन भयो, अब संविधान बनाउने बेला के उहाँ जङ्गल जान सुहाउँछ ?’ सभापति कोइरालाले प्रश्न गरे । नकारात्मक सन्देश जानेतर्फ नभई सकारात्मक ढङ्गले मिलेर संविधान बनाउन सहयोग पुग्ने गरी कलम चलाउन उनले पत्रकारहरुलाई सुझावसमेत दिए ।

राष्ट्र कम्जोर अवस्थामा पुगेको भन्दै सभापति कोइरालाले अब पनि सबै दल जिम्मेवार बन्न नसके देश दुर्घटनामा जाने खतरा औंल्याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us