एमाओवादी नेताले भने, ‘गाउँ विकासमा लाग्छौं’

काठमाण्डु टुडे २०७० मंसिर ९ गते ३:४९ मा प्रकाशित

धुर्कोट, ९ मंसिर–संविधानसभा निर्वाचनमा गुल्मी जिल्लाबाट उम्मेदवार बनेका एकीकृत नेकपा (माओवादी) का तीनैजना उम्मेदवारले चुनावमा पराजित भए पनि आफूहरु गाउँको विकासका कामबाट टाढा नहुने बताएका छन् । निर्वाचनको परीणाम आफ्नो पक्षमा नपरे पनि एमाओवादी उम्मेदवारहरुले आफूहरु अब गाउँका जनताको जनजीविका र विकासमा दत्तचित्त भएर लाग्ने बताएका हुन् ।

गुल्मी क्षेत्र नं. १ का उम्मेदवार सुदर्शन बराल, २ का अशोक थापा र ३ का वामदेव क्षेत्रीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी ऐतिहासिक संविधानसभाको निर्वाचनमा उत्साहपूर्ण सहभागिताका लागि सबै जनता र एकीकृत नेकपा (माओवादी)लाई मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गरेका छन् ।

पार्टीका केन्द्रीय सदस्यसमेत रहेका गुल्मी क्षेत्र नं ३ का उम्मेदवार क्षेत्रीले निर्वाचनको परीणाम अनपेक्षित आए पनि आफू गुल्मेली जनतासँगै रहेको र जनताको सुखदुःख र विकासमा सधैँ साथ दिने बताए । चुनावी परिणामबाट विचलित नभई लक्ष्य प्राप्तिका लागि अघि बढ्न उनले जनतालाई अपिलसमेत गरेका छन् । यस्तै पार्टी जिल्ला संयोजकसमेत रहेका क्षेत्र नं १ का उम्मेदवार बरालले सँधै जनताका माझ रहने प्रतिबद्धता व्यक्त गरे ।

क्षेत्र नं. २ का क्षेत्रीय संयोजक तथा उम्मेदवार थापाले आफू पराजित भए पनि जनताको सेवा र विकासमा लागिरहने उल्लेख गर्दै चुनावको बेला आफ्नोतर्फबाट भएका कमी कमजोरीको समीक्षा गरी कारबाही भोग्न तयार हुने बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us