
इलाम, ९ मंसिर–चुनाव जितेपछि सिधै काठमाण्डु हुइँकिने नेता अहिले भने आफ्नो निर्वाचन क्षेत्रमा लागेका छन् । जितपछि कहिल्यै नफर्किने आरोप लाग्ने गरेका नेताहरु मतदातालाई विजयको खुसियाली बाँड्न गाउँ लागेका हुन् ।
नेकपा एमाले र काँग्रेसका नेता विगतको परम्परा तोड्दै गाउँ पसेका हुन् । इलाम क्षेत्र नं. १ र २ बाट जितेका नेकपा एमाले अध्यक्ष झलनाथ खनाल र सुवासचन्द्र नेम्बाङ तथा क्षेत्र नं. ३ बाट विजयी भएका नेपाली काँग्रेसका केशव थापा सदरमुकाममा विजय जुलुस मनाएर निर्वाचन क्षेत्र फर्किएका छन् ।
खनाल र नेम्वाङ शनिबार बिहानै सदरमुकाममा आयोजना भएको विजय जुलुसपछि क्षेत्र नं. १ को फिक्कल तथा क्षेत्र नं २ को मङ्गलबारे पुगे ।
खनालको जित भएको सुन्नेबित्तिकै फिक्कलबाट आएको युवाको समूहले उहाँलाई फूलमालाका साथ शनिबार दिउँसो फिक्कल पु¥यायो । चुनाव जितेपछि कहिल्यै निर्वाचन क्षेत्र नफर्किने भन्ने आरोप खेप्दै आउनुभएका झलनाथ खनाल यसपटक भने सबैतिर पुग्ने बताउछन् ।
‘भोट माग्दा गरिएका बाचा अवश्य पूरा गर्नु मेरो कर्तव्य हो,’ खनालले भने, ‘जनतासामू गरिएका बाचा सबै पूरा गर्नेछु ।’ फिक्कलमा आयोजित विजय जुलुसमा सहभागी हुनुभएका अध्यक्ष खनालले नेकपा (एमाले)ले संविधान निर्माणको जिम्मा लिएर मुलुकलाई शान्ति र आर्थिक समृद्धितर्फ उन्मुख गराउने कार्यक्रममा लाग्ने बताए ।
क्षेत्र नं ३ बाट विजयी केशव थापाको पनि नयाँबजार, नामसालिङ, सोयाङ हुँदै यस क्षेत्रका १८ गाविस पुग्ने धोको छ । ‘पहिले–पहिले यतिसारो चासो पनि हुँदैनथ्यो अहिले जितेपछि पुगेन भने जनताले अर्काे पटकदेखि भोट नै दिँदैनन् भन्ने डर हुन्छ,’ थापा भन्छन्, ‘पहिले संविधान अनिमात्र विकास यही नै मुख्य लक्ष्य हो ।’