धनुषा ५ मा राष्ट्रपति पुत्र विजयी

काठमाण्डु टुडे २०७० मंसिर ९ गते ५:१२ मा प्रकाशित

chandramohan-yadavकाठमाण्डु, ९ मंसिर– धनुषा क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका उम्मेदवार डा. चन्द्रमोहन यादव विजयी भएका छन् । यादव ११ हजार ७ सय ३ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रघुबीर महासेठले १० हजार २३ मत ल्याए । योसँगै नेपाली काँग्रेसले प्रत्यक्षतर्फ १ सय ४ सीट ल्याएको छ । यादव राष्ट्रपति रामवरण यादवका छोरा हुन् ।

यसैबीच सप्तरी क्षेत्र नम्बर २ मा मतगणना जारी छ । प्रारम्भिक परिणामअनुसार एकीकृत माओवादीका अशोक कुमार मण्डल अग्रस्थानमा छन् ।

काँग्रेस सबैभन्दा ठूलो दल

हालसम्म नेपाली काँग्रेस १ सय ५ स्थानमा विजयी हुँदै सबैभन्दा ठूलो दल बन्न सफल भएको छ । ९१ सिट जितेको नेकपा एमाले दोस्रो ठूलो दल बनेको छ । यसअघि सबैभन्दा ठूलो दल रहेको एमाओवादीले भने २५ सिट जित्दै तेस्रो स्थानमा झरेको छ ।

यसैगरी फोरम लोकतान्त्रिक ४, राप्रपा र तमलोपाकाे समान ३ तथा फोरम नेपाल २ स्थानमा विजयी भएका छन् ।

यस्तै नेपाल मजदुर किसान पार्टी र सदभावना पार्टीले समान १-१  र स्वतन्त्र २ उम्मेदवार विजयी भएका छन् ।

पछिल्लो नतिजा अनुसार मुगुमा एमालेका मोहन बानियाँ ८ हजार १ सय ४६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ऐनबहादुर शाहीले ६ हजार २ सय ५२ मत पाए ।

बाजुरामा पनि एमाले उम्मेदवार विजयी भएका छन् । एमाले उम्मेदवार कर्णबहादुर थापा २२ हजार ४ सय ५८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका मानबहादुर रावलले १८ हजार १ सय २५ मत पाए ।

जुम्लामा काँग्रेसका लतिलजंग शाही विजयी भएका छन् । उनले ११ हजार ८ सय ८६ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम बहादुर रोकायाले ११ हजार १ सय ५१ मत पाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us