निर्वाचन निष्पक्ष भएको आयोगको दाबी

काठमाण्डु टुडे २०७० मंसिर ८ गते १२:३४ मा प्रकाशित

nilkantha upretiकाठमाण्डु, ८ मंसिर- निर्वाचन आयोगले मङ्सिर ४ मा सम्पन्न संविधानसभा निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न भएको दाबी गरेको छ ।

राजनीतिक दलहरुको समेत सहभागितामा तर्जुमा भएका निर्वाचनसम्बन्धी कानून तथा अन्तर्रााष्ट्रियरुपमा स्थापित विधि, प्रक्रिया र मापदण्डको उच्चतम परिचालन गरी निर्वाचन व्यवस्थापन गरिएको हुँदा यसबाट स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न भएको आयोगले बताएको हो ।

प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आयोगद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा मतदानस्थलबाट निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिको रोहवरमा सिलबन्दी गरिएका मतपेटिकाहरुमा उनीहरु समेतको सहभागितामा सुरक्षितरुपमा सदरमुकामस्थित मतगणना स्थलमा ल्याएका दाबी गरे ।

प्रमुख निर्वाचन आयुक्त उप्रेतीले मतदाताको स्पष्ट पहिचानका लागि मतदाता नामावलीमा मतदाताको व्यक्तिगत विवरणका अतिरिक्त रङ्गीन तस्बिरसमेत राखिएको र आयोगको आफ्नै छापाखानामा छपाइ गरी मतदाता परिचयपत्र वितरण गरिएको उल्लेख गरे ।

उनले राजनीतिक दललगायतका सरोकारवालाहरूको सहभागितामा निर्वाचन कार्यक्रम तर्जुमा गरी सञ्चालन गरिएको, मतदान व्यवस्थापनका लागि आवश्यक पर्ने संवेदनशील सामग्रीहरू जस्तै मतपत्र, मतपेटिका, सुरक्षण सिल, नउड्ने मसी, स्वस्तिक छाप, निर्वाचन निर्देशिका बमोजिमका अनुसूची फारामहरू र मतदान केन्द्रका लागि आवश्यक पर्ने विभिन्न प्रकारका सामग्रीहरू यस पटक पनि आधारभूतरुपमा विसं २०६४ सालको संविधानसभा निर्वाचनमा अवलम्बन गरिएकै प्रकृतिको रहेको जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त उप्रेतीले मतगणना सुरु गर्नुपूर्व मतपेटिका सिल गरिएको सुरक्षण सिलको नम्बरसमेत रुजु गरी राजनीतिक दल तथा उम्मेदवारको रोहवरमा मुचुल्का गरी यकिन भएपछि मात्र मतपेटिका खोली गणना गर्ने प्रबन्ध मिलाइएको बताए ।

उनले भने, ‘निर्वाचन व्यवस्थापन अत्यन्तै संवेदनशील र जटिल कार्य भएको हुँदा यसमा प्रयोग हुने सामग्रीको उचित मात्रामा जगेडामा राख्ने र आवश्यक परेको बखत मतदान केन्द्रमा यथाशीघ्र पु¥याउन सक्ने गरी जगेडा सामग्रीहरूको परिचालन गर्नुपर्ने हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us