पराजय अर्को ठूलो विजयको संकेतः भट्टराई

काठमाण्डु टुडे २०७० मंसिर ८ गते ४:२४ मा प्रकाशित

baburam_250काठमाण्डु, ८ मंसिर– एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले संविधानसभा निर्वाचनमा आफ्नो पार्टी पराजित भए पनि पार्टीले उठाएको एजेन्डाको पराजयको रुपमा नलिएको बताएका छन् ।

उनले भनेका छन्, ‘यसपालिको मेरो र हाम्रो पार्टीको पराजयलाई हामीले अर्को ठूलो विजयको सङ्केतको रुपमा ग्रहण गरेका छौं । मूलतः पहिचान, अधिकार तथा अग्रगमनसहितको नया“ संविधान र समृद्ध मुलुक निर्माणका लागि एमाओवादीले उठान गरेका एजेन्डाहरु सही र वैज्ञानिक छन् ।’

शनिबार एक विज्ञप्ति प्रकाशित गरी नेता भट्टराईले मुलुकको राजनीतिको मूलधारमा देखिएका सङ्घीयता, गणतन्त्र, समावेशीता, धर्मनिरपेक्षता, पहिचान, राज्यको अग्रगामी पुनःसंरचनालगायतका अग्रगामी एजेन्डाहरुको भ्रमपूर्ण अपब्याख्या र चुनाव जित्नका लागि प्रयोग गरिएका अनेकखाले अलोकतान्त्रिक र अमर्यादित हतकण्डाले यो चुनावी परिणाम निम्त्याएको बताए ।

समग्र लुम्बिनी क्षेत्रलाई ऐतिहासिक र धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गरी वार्षिक एक करोड पर्यटकलाई भ्रमण गराउने लक्ष्यअनुरुप समग्र लुम्बिनी अञ्चलकै एकीकृत विकासमा दृढतापूर्वक लाग्ने बताउँदै विज्ञप्तिमा भनिएको छ ‘रुपन्देहीबाट मेरो उम्मेदवारीले निश्चय पनि यस क्षेत्रको एकीकृत आर्थिक विकासका लागि नयाँ मार्ग प्रशस्त गरेको मैले अनुभव गरेको छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us