विराटनगरको स्कुलमा मतपेटिका भेटियो

काठमाण्डु टुडे २०७० मंसिर ८ गते ११:२२ मा प्रकाशित

mat petikaमोरङ, ८ मंसिर– विराटनगरको एक विद्यालयमा मतपेटिका भेटिएको छ । निर्वाचन धाँधलीपूर्ण भएको चर्चा चलिरहँदा मतदान केन्द्र समेत रहेको सो विद्यालयमा मतपेटिका भेटिएको हो ।

विराटनगर १५ स्थित जनपद उच्च माध्यमिक विद्यालयमा शिल लगाइएको अवस्थामा मतपेटिका भेटिएको हो । सो मतपेटिकाभित्र मत रहेको वा अरु नै केही रहेको भन्नेबारे चाहिँ खुलाइएको छैन । सो मतपेटिका पत्रकारहरुलाई पनि हेर्न दिइएको छैन ।

मतपेटिका बाहिर एक स्टिकर टाँस भएको र सोमा ‘संविधानसभा निवाृचन २०७०, मोरङ क्षेत्र नं २’ लेखिएको पत्रकार गोकुल पराजुलीले जानकारी गराए । सो विद्यालय भने मोरङ क्षेत्र नं ७ मा पर्छ । मतपेटिकाबारे सम्बन्धित निकायहरुले प्रतिक्रिया जनाएका छैनन् ।

सो स्थानमा एमाओवादी, फोरम नेपाल, लमलोपा लगायतका पार्टीका कार्यकर्ताहरु मतपेटिका भेटिएपछि विरोधमा उत्रिएका छन् । विद्यालयले भने निर्वाचनका लागि कर्मचारीहरुलाई तालिम दिने क्रममा प्रयाग भएका मतपेटिका हुनसक्ने बताए पनि स्पष्ट पुष्टि गर्न सकेन ।

त्यस्तै नेपालगञ्जमा पनि मतपेटिका भेटिएको जानकारी आएको छ । यसअघि शुक्रबार काठमाण्डु र सिरहाका प्रहरी चौकीमा खाली मतपेटिका भेटिएका थिए भने धादिङमा मतपेटिका सिल गर्ने उपकरण र सामाग्रीहरु भेटिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us