संविधानसभा प्रतिक्रान्तिको हतियार बन्ने खतरा : एमाओवादी

काठमाण्डु टुडे २०७० मंसिर ८ गते १०:४५ मा प्रकाशित

maoist_building

काठमाण्डु, ८ मंसिर– एकीकृत माओवादीमा ४ मंसिरको संविधानसभाबाट जनताको अभिमतविपरीत परिणाम आएकाले त्यसलाई स्वीकार्न नसकिने मत बलियो देखिएको छ ।
आइतबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्डा तथा संविधानसभा निर्वाचनमा पार्टी पराजित हुनुको कारणबारे छलफल गर्न आइतबार बसेको पूर्वपोलिट्ब्युरो सदस्य र राज्य समिति संयोजकहरुको बैठकमा बोल्ने अधिकांश नेताले यस्तो बताएका हुन् ।

बैठकमा वर्षमान पुन, देवेन्द्र पौडेल, लोकेन्द्र विष्ट, नन्दकिशोर पुन, चन्द्रप्रकाश खनाल, हिसिला यमी, प्रभु साह र विश्वनाथ साहसहित १२ जनाले धारणा राखेका छन् । बैकठमा बोल्ने अधिकांशले क्रान्तिकारीहरुको त्याग र योगदानबाट सम्भव भएको संविधानसभा प्रतिक्रान्तिकारीहरुको हातमा पुगेकाले संविधानसभाबाट जनताको पक्षमा संविधान बन्ने भ्रममा पर्न नहुने बताएका थिए ।

अधिकांश सदस्यहरुले संविधानसभा निर्वाचनमा देशैभर फरकफरक शैलीका धाँधली भएको रिपोर्टिङ गरेको बैठकपछि संवाददाताहरुलाई बताए ।  ‘धाँधलीका अनगिन्ती प्रमाणहरु हामीले संकलन गरेका छौं र ती प्रमाणहरु छिट्टै सार्वजनिक गर्छौं’, सापकोटाले भने । उनले मतपेटिका साटिएको, सिल तोडिएको, खसेको भन्दा बढी मत देखिएको, सदरमुकामबाट नजिक भएको स्थानबाट पनि भोलिपल्ट मात्र मतपेटिका आइपुगेको जस्ता घटनाहरुले धाँधली भएको प्रष्ट्याउने बताए ।

स्रोतका अनुसार बैठकमा बोल्नेमध्ये नेवा: राज्य समिति संयोजक देवेन्द्र पौडेलबाहेक सबैले संविधानसभा बहिस्कार गरेर जनताको अपमान भने गर्न नहुने विचार राखेका थिए । ‘परिणाम स्वीकार गर्नुपर्छ’, तर धाँधली स्वीकार नगरौं’ नेता लोकेन्द्र विष्टको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक सदस्यले काठमाण्डु टुडेसँग भने, ‘जनताले त हामीलाई जिताएकै  थिए, त्यसैले संविधानसभा बहिस्कार गर्दा उनीहरुको अपमान हुन्छ ।’

बैठकमा बोल्ने सबैले पार्टी पराजित हुनुको मुख्य कारण धाँधली भए पनि पार्टी बिग्रिएको कुरा बिर्सन नहुने धारणासमेत राखेका थिए । ‘चुनावमा त धाँधली र बुथकब्जा भएकै हो’, नेता विष्टले भने, ‘त्यसभन्दा पहिला उम्मेदवार छनौट गर्दा पार्टीभित्रै धाँधली भएको कुरामा पनि नजर अन्दाज गर्न मिल्दैन ।’ यस्तै बैठकमा पार्टी र जनताबीच सम्बन्ध टाढिएको भन्दै सबै नेता कार्यकर्ता जनतामा जानुपर्ने आवाजसमेत उठेको छ ।

एमाओवादी वैकल्पिक शक्ति
बैठकमा बोल्ने अधिकांश सदस्यहरुले संविधानसभमाशान्तिप्रक्रिया र संविधान निर्माण प्रक्रिया मा भने विचलित हुन नहुने धारणा राखेका उनले बताए । संविधानभामा परिवर्तन र संघीयताविरोधी तथा प्रतिक्रान्तिकारी र यथास्थितिवादी शक्ति हावी हुनेमा भने सबैको एकमत थियो ।

यसअघि एकीकृत माओवादीले निर्वाचनमा मतपेटिका ल्याउने क्रममा षडयन्त्र भएको भन्दै त्यस विषयमा पुनरावलोकन नभए निर्वाचन प्रक्रियाबाट अलग हुने र संविधानसभामा पनि नजाने घोषणा गरिसकेको छ । बैठक आइतबार पुन: बस्ने जनाइएको छ ।
षड्यन्त्र यहीं रोकिंदैन: प्रचण्ड
बैठकको सुरुमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा जारी परिवर्तनको प्रक्रिया ध्वस्त पार्ने डिजाइनअन्तर्गत निर्वाचनमा षड्यन्त्र भएको बताएका थिए । उनले षड्यन्त्रको ऋंखला यहीं अन्त्य हुने नठान्न भनेका थिए । भविष्यमा षड्यन्त्रका एकपछि अर्को ऋंखला प्रष्ट हुँदै जाने भनाइ उनको थियो ।

‘यो नेपालमा परिवर्तन संस्थागत हुन नदिन ठूलो डिजाइनका गरिएको ष्डयन्त्र हो’, उनको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘यो यहीं रोकिन्छ भन्ने नठान्नुहोला ।’ एनेकपा माओवादीमाथि मुलुक र जनताको ठूलो जिम्मेवारी रहेकाले विचलित नभई संकट समाधानका लागि वैकल्पिक राजनीतिक शक्ति निर्माण गरी अघि बढअघि बढ्नुपर्ने विचार उनको थियो । उनले शान्ति र संविधानको बाटोबाट भने पार्टी विचलित नहुने प्रष्ट्याए ।
प्रक्रियाबाट बाहिर जानुपर्छ: पौडेल
बैठकमा नेवा: राज्य समिति सदस्य देवेन्द्र पौडेलले १२ बुँदे सहमतिबाट सुरु भएको राजनीतिक यात्राको औचित्यतामा गम्भीर प्रश्न उब्जिएको बताएका थिए । उनले १२ बुँदेबाट सुरु भएको राजनीतिक प्रक्रिया असफल सिद्ध भएकाले तत्काल बाटो बदल्न जरुरी रहेको औंल्याए ।

‘१२ बुँदे सहमतिबाट सुरु भएको राजनीतिक यात्राको औचित्यमा गम्भीर प्रश्न खडा भएको छ’, पौडेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब यो बाटोबाट अघि बढ्न सकिंदैन, बाटो बदल्नुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us