काठमाण्डुमा समानुपातिक मतगणना सुरु

काठमाण्डु टुडे २०७० मंसिर ८ गते ९:०० मा प्रकाशित

kathmandu_district_mapकाठमाण्डु, ८ मंसिर– संविधानसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको काठमाण्डु जिल्लाको मतगणना शनिबारदेखि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत अच्यूत विष्टले काठमाण्डु जिल्लाका दसवटै निर्वाचन क्षेत्रका समानुपातिक निर्वाचन प्रणालीको मतगणना सुरु भएको जानकारी दिए । काठमाण्डु जिल्लामा पहिलो हुने निर्वाचित हुने निर्वाचनको मतगणना  समाप्त भएपछि जिल्ला निर्वाचन अधिकृतको कार्यालयले समानुपातिक निर्वाचन प्रणालीको मतगणना सुरु गरेको हो ।

धेरै दलले सो निर्वाचन प्रणालीमा भाग लिएका कारण मतगणना कार्यले पहिलो हुने निर्वाचित हुने निर्वाचनभन्दा केही बढी समय लिने मुख्य निर्वाचन अधिकृत विष्टले जानकारी दिए । समानुपातिक निर्वाचन प्रणालीमा १२२ दलले भाग लिएका छन् । ती दलले निर्वाचन आयोगमा समानुपातिक निर्वाचनका आफ्ना उम्मेदवारको नाम बन्दसूचीमार्फत बुझाइसकेका छन् । आयोगले दलले बुझाएका उम्मेदवारका नामावली अध्ययन गरी अन्तिम नामावली सार्वजनिक गरिसकेको छ ।

आयोगका अनुसार सो निर्वाचन प्रणालीमा १० हजार ७०९ उम्मेदवार छन् । यसमा पुरुष पाँच हजार ४४८ र महिला पाँच हजार २९१ रहेका छन् । देशलाई नै एउटा निर्वाचन क्षेत्र मानी दलले प्राप्त गरेका मतका आधारमा संविधानसभामा सिट सङ्ख्या तय गरिने प्रणालीलाई नै समानुपातिक निर्वाचन भनिन्छ ।

सो निर्वाचन प्रणालीका लागि आयोगले हल्का रातो रङ्गको मतपत्र मतदानका लागि प्रयोगमा ल्याएकोे थियो  । मतदानका लागि आयोगले एक करोड ४९ लाख ५२ हजार मतपत्र छपाइ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us