जङ्गली हात्तीको आतङ्क

काठमाण्डु टुडे २०७० मंसिर ८ गते ७:५९ मा प्रकाशित

वीरगन्ज, ८ मङ्सिर– पर्साको शङ्करसरैयामा हात्तीको एक समूहले गएराति आतङ्क मच्चाएको छ । हात्तीको समूहले स्थानीयको ३० मुरी धान खाएर नष्ट गरिदिएको छ । शङ्करसरैया गाविस वडा नं २ हरैया टोल निवासी वीरबहादुर थापाको भकारी भत्काएर धान खाएर नष्ट गरिदिएको स्थानीयले जानकारी दिएका छन् ।
राति करिब ३ बजे १० को सङ्ख्यामा गाउँ पसेका हात्तीका बथान प्रहरी र स्थानीयको प्रयासमा बिहान ६ बजे मात्रै भागेका थिए । हात्ती भगाउन हरैया प्रहरी चौकीको प्रहरी टोलीले दुई राउन्ड हवाइफायरसमेत गरेको थियो । जिल्लाको ठोरी, निर्मल बस्तीलगायतका गाविसमा हात्तीको आतङ्क बढेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us