थाई प्रधानमन्त्रीलाई संकट

काठमाण्डु टुडे २०७० मंसिर ८ गते ७:०१ मा प्रकाशित

बैंकक, ८ मङ्सिर–थाइल्याण्डका प्रधानमन्त्री यिङ्लक सिनावात्राको संकट बढेको छ । उनका विरुद्ध थाइल्याण्डको संसदमा बिपक्षी दलले अविश्वासको प्रस्ताव दर्ता गराएपछि उनको संकट बढेको हो । Thai PM
विपक्षीहरुले संसदमा अविश्वासको प्रस्ताव ल्याएपछि उनले शुक्रबारदेखि गर्ने भनिएको सिंगापुरको भ्रमण पनि हालका लागि स्थगित गरेकी छन ।
त्यहाँको संसदले आममाफीसम्बन्धी कानुन ल्याएपछि त्यसको विरोधमा विपक्षीहरुले विगत करिब तीन हप्तादेखि आन्दोलन जारी राखेका छन् । सडक आन्दोलन रोकेर उनीहरुले हालै मात्र उनका विरुद्धमा अविश्वासको मत ल्याएका थिए ।
तर सो कानुन भने थाइ संसदको माथिल्लो सदनले असफल गराइदिएको छ । उक्त विधेयक असफल भएपछि पनि आन्दोलन जारी नै रहेकोले प्रधानमन्त्री सिनावात्राले सबै विपक्षीहरुलाई आन्दोलन रोक्न आग्रह गरेकी थिइन । विपक्षीहरुले आन्दोलन जारी राखेपछि हड्ताल रोक्न प्रधानमन्त्रीले एक विज्ञप्तिमार्फत आग्रह गरेकी थिइन । विपक्षीहरुले सो आन्दोलन रोकेर संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रधानमन्त्री सिनावात्राले आगामी नोभेम्बर २८ मा थाईल्याण्डको संसदमा उपस्थित भई आफ्नो पक्षमा विश्वासको मत रहे नरहेको विषयमा मतदानमा सहभागि हुनुपर्नेछ ।
उनले दिनहूँको आन्दोलन एवम् हड्तालले नागरिकको दैनिकीमा पनि समस्या पारेको र यसले थाइल्यान्डको प्रमुख आर्थिक आयको रूपमा रहेको पर्यटन उद्योगमा पनि  नकारात्मक असर पारेको बताएकी छन ।
प्रधानमन्त्री सिनावात्राले भ्रष्टाचारको मुद्दा सामना गर्न नसकि विदेशमा निर्वासनमा रहेको आफ्ना दाजु एवम् पूर्व प्रधानमन्त्री थाकसिन सिनावात्रालाई स्वदेश फर्किने सहमतिका लागि सो कानुन ल्याएको विपक्षीहरूले जनाएका छन् ।
विपक्षी दलका हजारौँ कार्यकर्ता सडकमा ओर्लिएर सो कानुनको विरोध गर्दै सो कानुनको खारेजीको माग गरेपनि उक्त कानुन वर्तमान सरकारको बहुमत रहेको थाई संसदको तल्लो सभाले हालै पारित गरेको थियो ।
प्रधानमन्त्री सिनावात्राले भने देशमा एकताको भावना जागृत गर्न र राष्ट्रियता र विकासका लागि एकताबद्ध भएर अघि बढ्न सबै राजनीतिक दल तथा विचारहरू अटाउन सक्ने गरी सो आममाफीसम्बन्धी कानुन ल्याइएको बताएकी छन ।
पूर्व प्रधानमन्त्री थाकसिन भ्रष्टाचारसम्बन्धी मुद्दा लागेका कारण विदेशमा रहेका छन् । यो कानुन पारित भएको भए भने उनलाई स्वदेश फर्किने बाटो खुलने थियो । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us